१८ पुस, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार हिउँदे वर्षा नभएपछि नेपालका मौसमविद्हरुले आफ्नै प्रक्षेपणको समीक्षा गर्ने भएका छन् ।
विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । तर हिउँदयामको एक महिना बितिसक्दा पनि प्रक्षेपण अनुसार हिउँदे वर्षा भएको छैन । कुनै-कुनै ठाउँमा फाट्टफुट्ट मात्र पानी परेको विभागको रेकर्ड छ ।
जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले आफूहरुले प्रक्षेपण गरेअनुसारको हिउँदे वर्षा नभएको र तत्काल वर्षाको सम्भावना पनि नरहेको बताउनुभयो । ‘यो समीक्षाको विषय हो,’ बताउनुभयो । उहाले भन्नु ‘हामीले प्रक्षेपण गरेअनुसार किन भएन भनेर पुनः विश्लेषण गर्छौं ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मौसमविदहरु समेतको सहभागितामा विभिन्न मोडेलमा गरिएका विश्लेषणका आधारमा नेपालको जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण थियो । तापक्रम भने गत वर्षको हाराहारीमै हुने प्रक्षेपण छ
वरिष्ठ मौसमविद पोखरेलले यस वर्षको हिउँदयाम अघिल्लो वर्षको तुलनामा न्यानो हुने भनेर गरिएको प्रक्षेपण मिले पनि वर्षाको प्रक्षेपण नमिलेको बताउनुभयो।
अब हिउँदको दुई महिना बाँकी छ तर तत्काल वर्षाको सम्भावना छैन, ‘यस्तो किन भयो भनेर एनालाइसिस गर्नैपर्ने हुन्छ, हामी गर्छौं पनि उहाको भनाई
नेपालमा मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । यो अवधिमा ६०.१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ । मंसिरको सुरुमा हिउँदयाममा पश्चिम नेपालमा असिना पानी परेको थियो । त्यसयता वर्षाभएको छैन । मौसम विज्ञान विभागले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका ६२ वटा केन्द्रमा गरिएको मापनमध्ये कुनै पनि केन्द्रमा वर्षाको रेकर्ड छैन ।
