पुजा गुप्ता
तुलसीपुर, पौष २
‘समावेशी शिक्षा नीतिदेखि कक्षासम्म’ विषयक बहस कार्यक्रम बुधबार गोरखा माध्यामिक बिद्यालय तुलसीपुरमा सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालयको आयोजना तथा गोरखा मावि र गोरखा आवासीय विद्यालय तुलसीपुरको आयोजना गरिएको कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापक आशिका थापाले बिद्यालयमा फरक फरक व्यवहार देखाउने बिद्यार्थीका लागि अरुको सहाराको आवश्यकता रहेको बताउनुभयो । यसको अर्थ हो उसलाई विशेष शिक्षाको आवश्यकता छ भन्ने बुझ्नुपर्ने बताउनुभयो ।
प्यालिष्टको रुपमा रहनुभएका थापाले उठेका प्रश्नहरुको जवाफमा समावेशी शिक्षा अपांगता भएकाहरुका लागि मात्रै हो भन्ने साँघुरो बुझाइ भएको बताउनुभयो ।
थापाले भन्नुभयो, शारीरिक र मानसिक रुपमा मात्रै होइन, भावनात्मकरुपमा पनि समयानुसार चलेको छैन भने उसलाई विशेष शिक्षाको आवश्यकता छ । तथ्यांक हेर्दा पनि बालबालिकाहरु बाल अपराधमा संलग्न भएका तथा विद्यालय तथा अन्य ठाउँमा फरक व्यवहार देखाउने बालबालिकाको पारिवारिक अवस्था बुझ्नुभयो भने सम्बन्धविच्छेद तथा अन्य कुनै न कुनै समस्या भएको देखिने प्राध्यापक थापाले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखा प्रमुख चक्र भण्डारीले भने तुलसीपुरका विद्यालयमा समावेशी शिक्षाको उच्चतम अभ्यास गरिएको बताउनुभयो ।
बहसमा प्याब्सन दाङका अध्यक्ष डम्बर डाँगी, गुरुजजुर मावि रक्षाचौरका प्रधानाध्यापक विष्णुकुमारी केसी लगायत वक्ताको रुपमा हुनुहुन्थ्यो ।
कार्यक्रममा गोरखा ग्रुपका सिइओ नवल जीएमले गोरखा माविले सामुदायिक विद्यालयको शिक्षामा सुधारका लागि तुलसीपुर–३ मा रहेको मावि प्रतापकोटसँग भगिनी सम्बन्ध जोडेर विभिन्न संरचना निर्माणलगायतका काम गर्दै आएको बताउँदै आगामी दिनमा तुलसीपुर क्षेत्रमा समावेशी शिक्षालाई अब्बल बनाउन स्थानीय सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बहसमा तुलसीपुर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक, समावेशी शिक्षा अध्यापन गर्ने शिक्षक तथा स्थानीय सरकारका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण काठमाडौं विश्वविद्यालयमा समावेशी शिक्षा अध्ययनरत गोरखा माविका व्यवस्थापन संकाय संयोजक डम्बरबहादुर डाँगीले गर्नुभएको थियो ।

