ब्रेकिङ न्युज
Sun. Dec 7th, 2025

मंसिर १५

घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो ।
यसअघि विभागले गएको असोज १३ गते सूचना निकाल्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थियो । घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिनुपर्ने मालपोत ऐन, २०३४ मा भएको व्यवस्था बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशित गरी घरजग्गा कारोबार गर्ने कम्पनीका हकमा कार्यक्षेत्र समेत तोकेको थियो ।

घरजग्गाको व्यवसायलाई पारदर्शी, मर्यादित एवम् वैज्ञानिक बनाउने उद्देश्यका साथ कारोबारलाई व्यवस्थित गर्न लागेको जनाइएको छ । विभागले पहिलो चरणमा ६ वटा महानगरपालिका र ११ उपमहानगपालिकामा घर जग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रकाशित सूचनाअनुसार न्यून सङ्ख्यामा आवेदन परेकाले म्याद थप गरिएको हो ।

विभागका अनुसार गएको कात्तिकमा घरजग्गा कारोबारबाट दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो । त्यसैगरी सेवा कर २१ करोड ३४ लाख ४७ हजार ४ सय १३ रुपैयाँ, रजिष्ट्रेशन शुल्क एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रुपैयाँ, पूँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ बराबर सङ्कलन भएको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *