मंसिर १४
मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने एघारौं महाधिवेशनका लागि नेकपा एमालेको प्रतिनिधिमा दाङ र बाँकेमा विवाद उत्पन्न भएको छ।शनिबार देशभरबाट प्रतिनिधि छनोट गरेको छ। यद्यपि सर्वसम्मत प्रतिनिधि चयन गरिएको भनिएता पनि दाङ र बाँकेमा विवाद उत्पन्न भएको हो । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ५ जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। सर्वसम्मत हुन नसकेका ४ जिल्लामा निर्वाचनबाट प्रतिनिधि छनोट गरिएको छ भने रोल्पामा अहिले निर्वाचन हुँदै छ। दुई जिल्लाको प्रतिनिधि छनोट विवादित बनेको छ। नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार पूर्वी रूकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। सर्वसम्मत प्रतिनिधि चयन गरिएको भनिएको दाङ र बाँकेमा विवाद निम्तिएको छ।
दाङमा निर्वाचनको प्रक्रियामै नगई विधिविपरीत एकलौटी ढंगले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय संगठन विभागमा उजुरी हाल्नुभएको छ । दाङबाट २२ जना र बाँकेबाट १५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको भन्दै प्रदेश र केन्द्रमा नाम पठाइसकेका छन्।
लुम्बिनी प्रदेशमा एमालेका ८२ हजार १ सय ३५ संगठित सदस्य छन्। तीमध्येबाट भूगोल, कमिटी र जनसंगठनबाट गरी १ सय ९० जनामध्ये १ सय ८६ जना छनोट भइसकेका छन् भने ४ जनाको लागि अहिले निर्वाचन हुँदै छ।
एमालेको केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलर अनुसार लुम्बिनी प्रदेशका लागि खुलाबाट ८० जना, महिला ५३, युवा २६, दलितबाट १९, मजदुरबाट ७ र प्रदेश कमिटीबाट ५ जना गरी १ सय ९० जना प्रतिनिधि तोकिएको छ।
महाधिवेशन प्रतिनिधिका लागि बिहीबार उम्मेदवारी दर्ता भएको थियो। कतिपय जिल्ला र क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भए पनि सहमति जुट्न नसकेका जिल्ला र क्षेत्रमा निर्वाचन भएको हो।
प्रतिनिधि चयनका लागि केन्द्रीय संगठन विभागले जारी गरेको सर्कुलर विपरीत मतदाता नामावली र निर्वाचन कार्य तालिका नै प्रकाशित नगरी प्रतिनिधि छानिएको भन्दै भुसालले उजुरी हाल्नुभएको हो ।
एमाले प्रदेश अध्यक्ष कँडेलले पनि प्रतिनिधि चयनको विषयमा दाङ र बाँकेमा विवाद देखिएको बताए। ‘बाँके र दाङबाट प्रक्रियामै नगई प्रतिनिधि चयन गरिएको भनेर निवेदन आएको छ, ‘पूर्वी रुकुम, प्युठान, बर्दिया, कपिलवस्तु र गुल्मीमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्,’ कँडेलले जानकारी दिुनभयो ।
रोल्पामा भने युवा र दलित प्रतिनिधि सर्वसम्मत चयन भए पनि खुला र महिला प्रतिनिधिमा सहमति नजुटेपछि अहिले निर्वाचन हुँदै छ। रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन हुने छन्।
दुई जना खुला प्रतिनिधिका लागि तीन जना र दुई जना महिलाका लागि चार जनाको उम्मेदवारी परेपछि अहिले निर्वाचनको प्रक्रिया अगाडि बढाइएको एमाले रोल्पाका अध्यक्ष अमृत बुढाले बताउनुभएको छ ।
‘शनिबार राती अबेरसम्म सर्वसम्मतको प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि अहिले निर्वाचनको प्रक्रिया अगाडि बढाएका छौं,’ अध्यक्ष बुढाले भन्नुभयो। रोल्पामा एमालेका २ हजार २ सय ६४ जना संगठित सदस्यले मतदान गर्न पाउने छन्।
अध्यक्ष बुढाका अनुसार युवा प्रतिनिधिमा उहा आफै सर्वसम्मत चयन भएका छन् भने दलित प्रतिनिधिमा पहल बहादुर विक चयन हुनुभएको छ । विक उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य तथा एमाले रोल्पाका सचिवालय सदस्य हुनुहुन्छ ।
यस्तै रूपन्देही, पश्चिम नवलपरासी, पाल्पा र अर्घाखाँचीमा भने शनिबार निर्वाचनबाट प्रतिनिधि चयन गरिएको छ। एमाले प्रदेश अध्यक्ष कँडेलका अनुसार लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी रूपन्देहीबाट ३४ जना प्रतिनिधि चयन भएका छन्। रूपन्देहीका क्षेत्र नम्वर ३ र ५ मा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भए पनि क्षेत्र नं। १, २ र ४ मा भने निर्वाचनबाट छनोट गरिएको हो।
त्यस्तै गुल्मीबाट २०, बर्दियाबाट १५, कपिलवस्तुबाट १५, पाल्पाबाट १४, अर्घाखाँचीबाट १३, पश्चिम नवलपरासीबाट ११, प्युठानबाट ८ र पूर्वी रुकुमबाट ५ जना प्रतिनिधि चयन भएका हुन्।
एमालेको केन्द्रीय कमिटीमै सात जना पदाधिकारी रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधि चयनको विषय पनि पेचिलो बनेको थियो। केन्द्रमा एक ठाउँ देखिने एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको नाममा जिल्ला तहका कार्यकर्ताहरू भने समूह बनाएरै विभाजित बन्दै आउनुभएको छ ।
केन्द्रीय कमिटी उपाध्यक्ष विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी लुम्बिनी प्रदेशकै हुनुहुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका रायमाझी बाहेकका अन्य सबै पदाधिकारी प्रतिनिधि चयनमा प्रत्यक्ष संलग्न रहेको नदेखिए पनि अप्रत्यक्ष रूपमा भने रणनीतिक रूपमा योजना बनाएरै सक्रिय हुनुभएको थियो ।

