मंसिर १५
नेपाली कम्युनिस्ट पार्टीले शनिबार लुम्बिनी प्रदेशस्तरीय सन्देश सभा दाङको देउखुरीमा गरेको छ । सन्देश सभालाई सम्बोधन गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम लगायत प्रदेशस्तरीय नेताहरू सहभागी हुनुभएको थियो ।
कार्यक्रममा नेता कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको थियो ।
सभामा सहभागी हुन र नेताहरुको सम्बोधन सुन्न १२ जिल्लाबाट नेता–कार्यकर्ता सार्वजनिक बगैंचामा भेला भए ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनाव जितेर मात्रै केही नहुने बताउँदै जनताको बीचमा हुने एकता नै बलियो शक्ति भएको बताउनुभयो । लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार लमहीमा सम्बोधन गर्दै उहाँले कांग्रेस–एमालेको एकतापछि बनेको दुई तिहाईको सरकारलाई लक्षित गर्दै भन्नुभयो– ‘चुनाव जितेर मात्रै केही हँुदोरहेनछ । चुनाव जितेर हुन्थ्यो भने त अस्तिसम्म कांग्रेस र एमालेको दुई तिहाई थियो नि त । के नाप्यो त्यो दुई तिहाईले, हेलिकप्टर चढेर भाग्नुप¥यो । दुई तिहाईले पनि केही गर्दोरहेनछ ।’
उहाँले जनताको एकता नै बलियो तागत भएको दाबी गर्नुभयो ।
सन्देशसभालाई सम्बोधन गर्ने अधिकांश नेताहरुले एमाले अध्यक्ष केपी शर्मा वलीको आलोचनामा समय खर्चिनुभयो । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि केपी शर्मा वलीकै वरिपरि आफ्नो सम्बोधन केन्द्रित गर्नुभएको थियो । केपी शर्मा वलीलाई सम्झाउन र सुधार्न चाहे पनि त्यसो हुन नसकेको दाबी गर्नुभयो । वलीलाई सुधार्न आफूहरुबाट भएको प्रयास पार नलागेको सुनाउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले राजनीतिलाई सुधार्न नेता–कार्यकर्ता उत्पादनमा जोडिनैपर्ने बताउनुभयो । पार्टी चलाउन पैसा चाहिने भन्दै त्यो पैसा उत्पादनमा जोडिएर आर्जन गर्नुपर्ने तर्क गर्नुभयो ।
‘पार्टी चलाउन पैसा चाहिन्छ । स्रोत चाहिन्छ । त्यो स्रोत मागेर मात्रै हुँदैन । आर्जन गर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘हामी पनि अब उत्पादनमा जोडिनैपर्छ ।’ सम्बोधनका क्रममा गौतमले पछिल्लो अवस्थामा देशलाई पु¥याउने दोषी व्यक्ति को हो भनेर प्रश्नको उत्तर खोजिने बताउनुभयो । जेनजी आन्दोलन नेपालका राजनीतिक पार्टी र नेताहरुलाई घचघच्याउन भएको दाबी गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले धोकेवाजहरुलाई सदाका लागि पराजित गर्न तयार हुन आह्वान गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार लमहीमा सम्बोधन गर्दै उहाँले धोकेवाजहलाई पराजित गर्न कम्मर कसेर लाग्न आह्वान गर्नुभएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता चन्द्रप्रकाश खनाल (बलदेव)को अध्यक्षतामा सम्पन्न सभालाई सो पार्टीका नेता वर्षमान पुन, रेखा शर्मा, चिरन पुन, डाक्टर लक्ष्मी वलीलगायतले सम्बोधन गर्दै पार्टीलाई सुदृढरुपमा अघि बढाउने गरी लाग्न आह्वान गर्नुभएको थियो । नेता इन्द्रजीत चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको सभाको सहजीकरण नेता मेटमणि चौधरीले गर्नुभएको थियो ।

