सङ्घीय सरकारले विकास बजेट रोक्दिँदा समस्या- मुख्यमन्त्री आचार्य

८ कार्तिक

सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनमा समस्या भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडक, पूर्वाधार, सहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका शीर्षकमा विनियोजित बजेट सङ्घीय सरकारद्वारा रोकिँदा काम अघि बढ्न नसकेको बताउनुभएको हो । ‘सङ्घीय सरकारले बजेट रोक्का गर्दा सहरी विकास, खानेपानी, सडकका काम रोकिएका छन्,उहाँले भन्नुभयो। वर्तमान अवस्थामा बजेटबिना काम गर्न समस्या हुन्छ। अर्घाखाँचीको विकासको गति अहिले निर्णयले कहाँ पुर्‍याउँदैछ, देशको विकास के हुँदैछ, यो विषयमा सरोकार भएका सबै जवाफदेहिता हुनुपर्छ।’
मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘निश्चित समूह केही व्यक्ति कार्यालय गएर कर्मचारीलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ। अबिलम्ब त्यसलाई रोक्नका लागि ठोस् कदम चाल्न सरोकार भएका सबैलाई अनुरोध गर्दछु। यस्तो गर्न कसैलाई पनि छुट छैन। कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन। यो कार्य तुरुन्त रोकिनु आवश्यक छ।’
उहाले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गर्नुभयो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनालले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सबै राजनीतिक दल दलिय स्वार्थभन्दा माथि उठेर एकै ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो।
उहाँले कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनको तयारी गरिरहेको बताउँदै वर्तमान सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने उल्लेख गर्नुभयो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *