असोज १९
आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाले अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने उहाँको भनाइ छ । ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ ।
ठूलो वर्षाका कारण नदी, खोलाहरुमा बाढी
लगातारको ठूलो वर्षाका कारण पूर्वी र मध्य भेगका विभिन्न नदी खोलाहरुमा बाढी आएको छ । ३५ वटाभन्दा बढी वर्षामापन केन्द्रमा नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती नदीको ललितपुर र रौतहट, कोशी नदीको धनकुटा र सिन्धुली, कन्काइ नदीको इलाम, मेची नदीको झापामा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ ।
यस्तै मकवानपुरको लालबकैया, काभ्रेपलाञ्चोकको सुनकोशी र रोशीखोला, सोलुखुम्बुको सोलुखोला, खोटाङको दुधकोशी, पाँचथरको तमोर, सुनसरीको सप्तकोशी, मोरङको बुढीखोला र लोहोन्द्रा खोला, इलामको माइखोला र पुवाखोलामा पनि पानीको बहाव सतर्कता तहभन्दा माथि पुगेको छ ।
लगातार पानी परिरहेका ठाउँका नदी खोलामा बाढी आएपछि आसपासका बस्ती डुबानमा परेका छन् । पानी परिरहेका ठाउँमा अझै बाढी थपिन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा
कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा शुक्रबार देखि नै ठूलो पानी परेको छ । इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुरमा अति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा तीन सय ५६ मिलिमिटर पानी परेको छ । निरन्तर र ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका अरू जिल्ला, मधेश प्रदेश र कोशी प्रदेशका विभिन्न ठाउँका नदी खोलामा बाढी आएको छ । बस्तीहरु डुबानमा परेका छन् । बाढी र डुबान प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले सुरक्षित ठाउँमा सारेका छन् । सरकारले पूर्व तयारी व्यवस्थित बनाएकाले मानवीय क्षति भएको छैन ।
महाशाखाका अनुसार बेलुकीदेखि झरी केही मत्थर हुनेछ ।