असोज १७ गतेदेखि भारी वर्षाको प्रक्षेपण

By Sushil Basnet १५ आश्विन २०८२, बुधबार ०१:०० १५ आश्विन २०८२, बुधबार ०१:०० १५ आश्विन २०८२, बुधबार ०१:००

१५ असोज

असोज १७ गतेदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ ।
मौसमविदहरुले दशैंको टीकाको भोलिपल्टदेखि भारी बर्षाका कारण हुने क्षतिबाट सुरक्षित हुन सर्तकता अपनाउन अनुरोध गरेका छन् । यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने सम्भावना छ । मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका छन् ।
नेपालमा मौसमको भविष्यवाणी गर्ने सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गर्दै असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ । मौसम प्रक्षेपणका लागि प्रयोग गरिने युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल )ग्लोबल फरकास्ट सिस्टम (जीएसएफ)ले भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका हुन् ।
यी तीनवटै मोडलका अनुसार असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । त्यसको असरले कुनै–कुनै स्थानमा भारीदेखि अति भारी वर्षा गराउने प्रक्षेपण छ ।
असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।
‘यस वर्षको दशैंको अवधिभर मनसुनी वायुको प्रभाव रही दशैंको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ विभागले मंगलबार साँझ जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव भारतको ओडिसाका भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमश सर्ने छ । त्यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने छ । र, असोज १७ गते (एकादशी)का दिनबाट खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।

यसको असरले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
असोज १८ गते ९द्वादशी०को दिन पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन कोशी, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
असोज १९ गते (त्रयोदशी) को दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

दशैंको टीकाको दिन पनि वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले आधिकारिक रुपमा तीन दिनको मात्र मौसम पूर्वानुमान गरेर दशैंको टीकाको दिनदेखि त्रयोदशीसम्म पानी पर्ने भनेको छ । तर जलवायु र मौसम पूर्वानुमानमा प्रयोग गरिने मोडेलहरुले भने असोज २१ गतेसम्म पनि पानी पर्ने संकेत देखाएका छन् । यसको अत्यधिक प्रभाव कोशी, बागमती र गण्डकी प्रदेशमा पर्ने सम्भावना छ ।
‘बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने विपद विज्ञ समेत रहेका जलवायु अध्येता डा. धर्मराज उप्रेति बताउनुभयो । अहिलेसम्मको अवस्था हेर्दा यसको असर डरलाग्दो देखिन्छ ।’
असोज २१ गतेदेखि साँझदेखि भने यो प्रणाली कमजोर हुने र राति नेपालभर पानी पर्न रोकिने संकेत गरेको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । यस वर्ष अक्टुबर २ तारिख अर्थात् असोज १६ गते दशैंको टीका परेको छ ।
असोज १६ गते र त्यसपछि पनि मनसुन सक्रिय हुने भएकाले नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलाइ हुने देखिएको छ । नेपालमा विगतका वर्षहरुलाई हेर्दा मनसुन भित्रिने र बाहिरिने सरदर मिति फरक पर्दै आएको छ ।
यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो अर्थात असार १६ गते नेपाल भित्रिएको थियो । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिए पनि त्यसअनुसार सबै ठाउँमा पानी परेको छैन । मधेश प्रदेशले त लामो समय खडेरीको सामना गर्नु परेको थियो । पानीका स्रोत समेत सुकेकाले सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर दशैंको टीकाको दिनपछि मधेशमा समेत वर्षा हुने प्रक्षेपण छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *