पुजा गुप्ता
असोज १० गते
आज बडादशैंको नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् ।
भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ ।
चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहने वर्णन छ ।
दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।
यसैबिच तुलसीपुरका युवाले नवरात्री बिशेष आरती कार्यक्रम सञ्चालन गरेका छन् । बडा दशैको चौथो दिन, चौथो दिन बिशेष आरती कार्यक्रम आयोजना गरेका हुन ।
बजरंग युवा नेपाल संस्थामा संगठीत भएका युवाहरुले बिशेष आरती कार्यक्रम गरिएको संस्थाका अध्यक्ष कैलाश गुप्ताले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को कार्यालय छेउमा रहेको हनुमान जी मन्दीर परिसरमा धार्मिक कार्यक्रमको आयोजना गरिएको थियो । राति साँढे ७ बजेदेखि शुरु भएको बिशेष आरती,भजन कृत्तन,अतिथी सम्मान कार्यक्रममा स्थानीय धर्मालम्वीहरुको ठुलो उपस्थीति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारी,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनील के.सी.अधिकारकर्मी एबम पत्रकार सुशील बस्नेत,महिला अधिकारकर्मी यमुना कँडेल शाह, ब्यबसायी गोकर्ण गिरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।