१६ जेठ

सरकारले आगामी आर्थिक वर्ष २०८२। ८३ को लागि ल्याएको बजेटमा लुम्बिनी प्रदेशभित्र परेका योजनाहरु अधिकांश पुरानै छन् । अधिकांश अधुरा बहुवर्षीय र सडकसँग सम्बन्धित योजनाहरूमा बजेटमा समेटिएका छन् तर नयाँ योजनाहरु न्यून छन् ।
लुम्बिनी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको गृह प्रदेश पनि हो । उनले विगतमा जस्तो आफ्नो क्षेत्रमा धेरै योजना र बजेट विनियोजन गर्न यसपटक सकेनन् ।
पाल्पा र दाङमा पेट्रोलियम पदार्थ अन्वेषण, अर्घाखाँचीको पाणिनीमा ज्ञान उद्यान निर्माण, दुम्कीबास–बर्दघाट र शिवपुर–भालुवाङ सुरुङ मार्ग निर्माण लगायत नयाँ योजना बजेटमा समेटिका छन् भने बाँकी अधिकांश पुरानै छन् ।
सिद्धार्थ राजमार्गलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति, रुपन्देहीको सेमलारमा आधुनिक कृषि थोक बजारका लागि पूर्वाधार निर्माण, मोतिपुर औद्योगिक क्षेत्र, तिलोत्तमामा मेडिकल कलेज, भैरहवाको एकीकृत जाँच केन्द्र, वृहत्तर लुम्बिनी गुरुयोजना निर्माण, गौतमबुद्ध विमानस्थलमा कार्गो सुविधा, कालिगण्डकी तिनाउ डाइभर्सन, नौमुरे जलविद्युत आयोजना पुरानै योजना हुन् । यी सबै योजनालाई बजेटले सम्बोधन गरेको छ ।
विगतका बजेटमा उल्लेख हुँदै आएको तिनाउ नदीमा सिग्नेचर पुल र तिनाउ नदी कटान नियन्त्रणका लागि अघि बढाइएको तिनाउ कोरिडोर भने बजेटमा समेटिएनन् ।
बजेट वत्तव्यमा अध्ययन सम्पन्न भएका दुम्कीबास–बर्दघाट सुरुङ मार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरिने तथा शिवपुर–भालुबाङ, रानीघाट–भुरिगाउँ र हात्तीसार–बबई सुरुङ मार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने उल्लेख छ ।
अघिल्लोपटक पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर र सल्यानको लुहाम जोड्ने सुरुङ मार्ग निर्माण सुरु गर्नुअघिको आवश्यक प्रक्रिया अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरे पनि यसपटक बजेटमा परेन ।
दाङ र पाल्पामा पेट्रोलियम पदार्थको अन्वेषण, सिक्टा र वृहत् दाङ सिंचाइ आयोजनालाई ८ अर्ब
बजेट वक्तव्यमा पाल्पा र दाङमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिने उल्लेख छ । अन्तर्राष्ट्रिय जगतबाट सक्षम अनुसन्धानकर्ता छनौट गरी रियर अर्थ मेटल्सको सम्भाव्यता अध्ययन गरिने बजेटमा उल्लेख छ ।
बजेटमा सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्क्स र पावर हाउस निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गरिने भएको छ । यसका लागि २ अर्ब ७ करोड बजेट छुट्याइएको । सिँचाइ प्रणालीमा १ अर्ब ८२ करोड विनियोजन गरिएको छ ।
टरिगाउँ विमानस्थलको क्षमता विस्तार

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निश्चित संख्यामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई थप प्रोत्साहन र सहुलियत दिइने बजेटमा उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइने र यस विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइने उल्लेख छ ।

यस्तै दाङको टरिगाउँ विमानस्थलको क्षमता विस्तार गरिने उल्लेख छ ।

बुटवल मेडिकल कलेजलाई ५ अर्ब मागेकामा १४ करोड

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका पौडेलले रुपन्देहीको तिलोत्तमा सहित चार स्थानमा बन्ने सरकारी मेडिकल कलेजलाई ५६ करोड बजेट विनियोजन गरेका छन् । तिलोत्तमामा बन्ने एक हजार बेडको बुटवल मेडिकल कलेज निर्माण आयोजनाले मात्रै आगामी आर्थिक वर्षका लागि ५ अर्ब बजेट माग गरेको थियो । चार वटा मेडिकल कलेजलाई समान बजेट बाँड्दा बुटवल मेडिकल कलेजलाई १४ करोड मात्रै विनियोजन हुनेछ ।

उच्च मूल्यका बालीवस्तुको खेती प्रवर्द्धनमा ८३ करोड, सेमलारमा थोक कृषि बजार

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीवस्तुको खेती प्रवर्द्धन गर्न ८३ करोड विनियोजन भएको छ ।
यसैगरी रूपन्देहीको सेमलारमा कृषि उपजको संकलन, प्रशोधन, बजारीकरण र निर्यात प्रवर्द्धनका लागि आधुनिक पूर्वाधार निर्माण शुरू गरिने बजेटमा उल्लेख छ । तर रकम किटान गरिएको छैन ।

मौतिपुर, नौवस्ता र लक्ष्मीपुर औद्योगिक क्षेत्र, भैरहवाको एकीकृत जाँच चौकी
रुपन्देहीको मोतीपुर, बाँकेको नौ बस्ता र दाङको लक्ष्मीपुर औद्योगिक क्षेत्र निर्माणका लागि लगानी बोर्डमार्फत निजी क्षेत्रको सहभागितामा आधुनिक औद्योगिक क्षेक्रको निर्माण गरिने बजेट वत्तव्यमा उल्लेख छ । तर नौवस्ताको जग्गा वन क्षेत्रमा परेकाले औद्योगिक क्षेत्र बन्ने अनिश्चित छ ।
बजेट वक्तव्यमा भैरहवाको एकीकृत जाँच चौकी (आईसीपी) आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ ।

नौतनवा–भैरहवा र नेपालगन्ज जोड्ने रेलमार्ग, बुटवल–नारायणगढ सडक चार लेन

बजेट वक्तव्यमा आगामी आर्थिक वर्षमा सीमावर्ती दक्षिण नाकाका नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगन्ज जोड्ने रेलमार्ग निर्माण कार्यको तयारी सुरु गरिने उल्लेख छ ।
आगामी दुई वर्षभित्र पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे सडकखण्डलाई चार लेनमा स्तरोन्नति गरिने बजेट वक्तव्यमा उल्लेख छ । यी दुई सहित अन्य सडक आयोजनाका लागि २१ अर्ब १९ करोड बजेट विनियोजन भएको छ ।

नौमुरे र कालीगण्डकी–तिनाउ डाइभर्सन

हरेकजसो बजेटमा उल्लेख हुने नौमुरे बहुउद्देश्यीय आयोजनाका लागि लगानी सुनिश्चित गरी निर्माण कार्य प्रारम्भ गरिने यसपटक पनि उल्लेख छ । यस्तै मुद्दा परेर अदालतले बाटो खोलेको कालीगण्डकी–तिनाउ डाइभर्सन ९नदी पथान्तरण० आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी निर्माणको ढाँचा यकिन गरिने बजेटमा उल्लेख छ । लुम्बिनीको माडी–दाङ सहित ग्वारखोला, तमोर–चिस्याङ्ग, सुनकोसी–तावा, त्रिशूली–लोथर बहुउद्देश्यीय आयोजनाका लागि ३७ करोड विनियोजन भएको छ ।

अर्घाखाँचीमा पाणिनि ज्ञान उद्यान निर्माण

नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षण गर्न अर्घाखाँचीको पणेनामा संस्कृत व्याकरणका प्रतिपादक पाणिनि ऋषिको स्मृतिमा पाणिनि ज्ञान उद्यान निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । साथै ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरूको डिजिटल आर्काइभिङ् गर्न पनि बजेट छुटाइएको छ ।

बुटवल धागो कारखाना र सिद्धार्थ क्रिकेट स्टेडियम

बुटवल धागो कारखाना लगायतका सार्वजनिक प्रतिष्ठानको विद्यमान अवस्था र व्यावसायिक सम्भाव्यताको अध्ययन गरी सरकारी लगानी व्यवस्थापन गरिने बजेटमा उल्लेख छ ।
यसैगरी रुपन्देहीको सिद्धार्थ क्रिकेट स्टेडियम सहित काठमाडौंको मूलपानी क्रिकेट रङ्गशाला, मोरङको गिरिजाप्रसाद कोइराला रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि रु। ४२ करोड विनियोजन भएको छ ।

बर्दिया–रारा, लुम्बिनी–मुक्तिनाथ पर्यटन पदयात्रा

निजी क्षेत्रसँगको सहकार्य र पर्यटन बोर्डको सहजीकरणमा पर्यटन फ्रवर्द्धन कार्यक्रम अन्तर्गत बर्दिया–रारा र लुम्बिनी–मुत्तिनाथ पदयाक्रा सञ्चालन गरिने बजेट वत्तव्यमा उल्लेख छ । त्यसैगरी रारा, स्वर्गद्वारी र मुक्तिनाथसम्मको पर्या–पर्यटन पदमार्ग विकास गरिने उल्लेख छ ।

बृहत् लुम्बिनी गुरुयोजना

बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम लगायतलाई समेटेर बृहत् लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिने बजेट वक्तव्यमा उल्लेख छ । तर अहिलेको गुरुयोजना पूरा गर्न आवश्यक अर्बौं रकमबारे बजेट वक्तव्यमा उल्लेख गरिएको छैन ।

कक्रहवा–सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

रणनीतिक तथा व्यापारिक महत्वको कक्रहवा ९रुपन्देही०–सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, राप्ती राजमार्ग लगायतका अन्य प्रदेशका विभिन्न सडकको स्तरोन्नति गर्न १ अर्ब २४ करोड विनियोजन भएको छ ।
भैरहवाको रणअम्बिका आँखा अस्पतालको सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै न्यु बुटवल–गोरखपुर अन्तर्देशीय प्रसारण लाइनको निर्माण कार्य अघि बढाइने बजेटमा उल्लेख छ ।
गण्डक, राजापुर लगायतका सिंचाइ प्रणालीहरूको मर्मत–सम्भार, पुनर्स्थापना तथा व्यवस्थापन सुधारका लागि १ अर्ब ८२ करोड विनियोजन भएको छ ।

नीजि क्षेत्रमा न उत्साहजनक नत निराशाजनक

संघीय सरकारको बजेटमा लुम्बिनी प्रदेशभित्र नयाँ योजना खासै नआएका र विनियोजित रकम पनि न्यून रहेकोप्रति प्रदेशको निजी क्षेत्र उत्साहित देखिएको छैन ।
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु पर्याप्त संख्यामा नियमित गर्न बजेटले विश्वसनीय आधार नदिएको भन्दै व्यवसायीहरु बजेट वक्तव्यबाट खासै खुशी हुने अवस्था नभएको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो ।
‘ढुंगा गिट्टी विदेश निर्यात गर्न सकिने घोषणा कार्यान्वयन भयो भने राम्रो मान्नुपर्छ, त्यसले बढ्दो ब्यापार घाटा कम गर्न योगदान गर्न सक्छ, अन्यथा प्रदेशमा खासै नयाँ योजना नभएकाले उत्साहित हुने अवस्था छैन’ शर्माले भन्नुभयो ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले समग्रमा बजेट सकारात्मक भएपनि लुम्बिनी प्रदेशका सन्दर्भमा उल्लेख्य सम्बोधन हुन नसकेको बताए । बुटवलमा सिग्नेचर पुल निर्माण, तिनाउ नदी कटान रोक्न अघि सारिएको तिनाउ कोरिडोर र बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बजेटमा नदेखिएको अर्यालले बताउनुभयो।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *