कास्की — जेष्ठ १२
निरन्तर ३ दिनदेखि जारी सर्वसम्मत गराउने प्रयास असफल भएपछि राष्ट्रिय युवा संघ नेपालको निर्वाचन हुने संम्भावना बढेको छ ।
राष्ट्रिय युवा संघ नेपालको नयाँ कमिटी निर्वाचनमार्फत् टुंगो लगाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तयार हुनुभएको हो ।
ओलीले क्षितिज थेबेलाई नै अध्यक्ष दोहोर्याउन चाहनुभएको थियो । वर्तमान महासचिव सुमन पुरीले दाबी नछोडेपछि मतदानबाट नयाँ कमिटी टुंगो लाग्ने भएको हो।
दुई पटक उपाध्यक्ष, एक पटक महासचिव बनेकाले अध्यक्ष हुन पाउनुपर्ने अडान उहाले सोमबार पनि कायम राख्नुभयो। यसपछि अध्यक्ष मण्डलसँगको परामर्शमा निर्वाचन कमिटीले आज मंगलबार बिहान ८ बजेदेखि मतदान सुरु हुने सूचना प्रकाशन गरेको छ ।
थेबेलाई अध्यक्ष घोषणा गर्ने, पदाधिकारी र सदस्य पनि पेलेरै घोषणा गर्नेसम्मको मनस्थितिमा नेताहरू थिए । पुरीको पक्षमा पनि माहोल राम्रो रहेको र पेलेर जाँदा मुठभेड नै हुनसक्ने सम्भावना पोखरामा रहेका नेताहरूले ओलीलाई खबर गरेका थिए ।
युवा संघको निर्वाचन गराउन पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालको नेतृत्वमा इन्चार्ज राजीव पहारी, पूर्वाध्यक्षहरू महेश बस्नेत, निरूदेवी पाल र किरण पौडेल सदस्य रहेको अध्यक्ष मण्डल छ ।
निर्वाचनमा भाग लिन अध्यक्षका दुवै दाबेदारले सदस्यसम्मको प्यानल तयार पारिसकेका छन् । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र देवबहादुर बस्नेत, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम उम्मेदवार हुनुहुन्छ । अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा उम्मेदवार हुनुहुन्छ ।
पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार हुनुहुन्छ । अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिनुभएको छ ।
सचिव खुल्लामा वकिलबहादुर बम, मिनाकुमारी राई (रञ्जु), सचिव मधेसीमा विकास झा, सचिव महिलामा रोजिना पाण्डे ९उमा०ले दुवै प्यानल बाहिर रहेर उम्मेदवारी दिनुभएको छ ।
युवा संघका इन्चार्ज राजीव पहारीले रातभरमा सर्वसम्मत हुने दाबी गर्नुभएको थियो । निर्वाचन प्रक्रियामा गएपनि एउटा पक्ष सर्वसम्मत गर्न तयार भएमा सहमतिको आधारमा नयाँ नेतृत्व घोषणा हुने उहाको भनाइ छ ।
मतदानमा ४५ वटा भोटिङ मेसिन प्रयोग गरिनेछ । महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि छन् ।

