ब्रेकिङ न्युज
Fri. Dec 5th, 2025

बैशाख २७

भारत र पाकिस्तानले दोस्रो रात शुक्रबार पनि एक अर्कालाई आक्रमण गरेका छन्। शुक्रबार रातिदेखि आज शनिबार बिहानसम्म भारतका विभिन्न भूभागमा ठूला(ठूला विस्फोटका आवाज सुनिएको भनेर भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यस्तै पाकिस्तानी भूभागहरूमा पनि रातिभरि भारतीय आक्रमण भएको भनेर पाकिस्तानबाट प्रकाशित हुने पत्रिका द डनले जनाएको छ।
शनिबार बिहान साढे ४ बजे भारतको जम्मूमा विस्फोटको ठूलो आवाज सुनिएको थियो।
पाकिस्तानी ड्रोन देखिएपछि जम्मू र हरियाणामा ब्ल्याकआउट गरिएको थियो।जम्मू, साम्बा, बर्मर, जइसाल्मर, गुर्दासपुर, होसियारपुर, अमृतसर लगायतका ठाउँका सैन्य शिविरहरूलाई लक्ष्य गरेर पाकिस्तानले आक्रमण गरेको बताइएको छ।
यद्यपि उसको हवाइ आक्रमण भारतको एयर डिफेन्स सिस्टमले निष्क्रिय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। श्रीनगर विमानस्थलमा पनि ड्रोन हमला भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतले दुई रातमा ३०० देखि ४०० वटा पाकिस्तानी ड्रोन निष्क्रिय पारेको भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ।
भारतले गएराति पाकिस्तानका तीन वटा हवाई अड्डामा आक्रमण गरेको बताइएको छ। डनले पनि तीनवटा हवाइ आधार क्षेत्रमा आक्रमण भएको तर त्यसलाई बिफल पारिएको भनेको छ।
दुई दिनमा पाकिस्तानले भारतका ७२ वटा ड्रोन निष्क्रिय पारेको डनले लेखेको छ।
पाकिस्तानले शनिबार बिहान सवा ३ बजेदेखि मध्याह्न १२ बजेसम्म हवाइ क्षेत्र बन्द गरेको छ। भारतले हवाइ क्षेत्र खुला राखेर पाकिस्तानले आफ्ना नागरिकहरूलाई खतरामा पारेको आरोप लगाएको थियो।
शुक्रबार रातिको हमलाबाट दुई देशमा के(कति क्षति भयो भन्ने विवरणहरू आइसकेका छैनन्।
पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको जबाफ भनेर भारतले बुधबार राति आधा घन्टासम्म पाकिस्तानका ९ वटा स्थानम मिसाइल आक्रमण गरेको थियो।
उसले ती क्षेत्रहरूको आतंकवादी संगठनहरुको अड्डा रहेको दाबी गरेको थियो। त्यसदिन पाकिस्तानका ३१ जनाको मृत्यु र कम्तिमा ४६ जना घाइते भएको भनिएको थियो। त्यसको जबाफमा पाकिस्तानले बिहीबार राति भारतीय भूभागहरुका ड्रोन र मिसाइल आक्रमण गरेको थियो। त्यसपछि दुई देशले एक(अर्कालाई आक्रमण गरेका थिए। बिहीबार राति भारतले लाहोरलको एयर डिफेन्स नष्ट पारेको दाबी गरेको थियो।
दुई देशबीच बढ्दो तनावबीच अन्तर्राष्ट्रिय समुदायहरूले दुवै देशलाई संयम अपनाउन भनेको छ।
अमेरिकी विदेशमन्त्री मार्को रूविओले दुई देशसँगै कुराकानी गरिरहेको र मध्यस्थको भूमिका खेलेको ह्वाइट हाउसले जनाएको छ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *