२७ वैशाख
भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम गरेका छन् । तर पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ ।
जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्नुभएको छ मुख्यमन्त्री अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ, यो कस्तो युद्धविराम हो ’लेख्नुभएको छ ।
भारतीय सञ्चार माध्यमहरूले युद्धविरामपछि पनि पाकिस्तानतर्फबाट जम्मु–कश्मीरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुरमा गोलीबारी भइरहेकै बताउनुभएको छ।
यसैबीच, पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डारले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेको पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक्समा दिएको वक्तव्यमा भनिएको छ, ‘परराष्ट्रमन्त्री वाङ यीले चुनौतीपूर्ण परिस्थितिमा पाकिस्तानले देखाएको संयमता र जिम्मेवार व्यवहारको प्रशंसा गर्नुभएको छ ।’
मन्त्रालयका अनुसार चीनका वरिष्ठ कूटनीतिज्ञ वाङले बेइजिङले पाकिस्तानको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणमा दृढ रूपमा साथ दिने विश्वास पुनः व्यक्त गर्नुभएको छ ।
यसैबीच, अलजजिराका स्थानीय संवाददाताले श्रीनगरका बासिन्दाहरूले विस्फोटको पुष्टि गरेको उल्लेख गरेका छन् ।
भारत प्रशासित कश्मीरको राजधानी श्रीनगरका थुप्रै बासिन्दाहरूले अल जजीरालाई दिएको जानकारी अनुसार उनीहरूले सहरभरि ठूलो आवाजमा अनेकौँ विस्फोटहरू सुनेका बताएका छन् । यसैबीच, सहरका केही भागहरू विद्युत् कटौतीको चपेटामा परेका छन् ।
श्रीनगरबाट अल जजीरासँग कुरा गर्दै पत्रकार उमर मेहराजले विस्फोटको आवाज सुनेको र आकाशमा क्षेपास्त्रहरू देखिएको बताउनुभएको छ ।

