१८ मंसिर
लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भागहरुमा हिमपात र वर्षा भएको छ ।
हुम्ला सदरमुकाम सिमकोटमा रहेका समाजशास्त्री सुवास चन्द्र घिमिरेका अनुसार सोमबार बिहान ६ बजेदेखि नै सिमकोटमा हिमपात भइरहेको छ । हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।
दाङ आसपासका क्षेत्रमा गएरातिदेखि आज बिहानसम्म पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ ।
मौसमविद सरोज पुडासैनीले भन्नुभयो, ‘पश्चिमी वायुको प्रभावले हल्का हिमपात र हल्का वर्षा भइरहेको हो ।’ यसको प्रभाव आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको उहाले बताउनुभयो ।
मौसमविदका अनुसार गण्डकी र बागमती प्रदेशमा सामान्य बदलीको अवस्था छ । कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली छ भने मधेश प्रदेश र कोशी प्रदेशको दक्षिणी भूभागमा मौसम सफा छ ।
काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ तर पानी पर्ने सम्भावना भने ‘एकदम कम’ रहेको मौसमविद पुडौसैनीले बताउनुभयो ।
