मंसिर १८
६ जनाको हत्या भएको सोती घटनामा दोस्रो दिन पनि पीडिततर्फका वकिलहरूको बहस हुने भएको छ। रुकुम जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइमा सोमबार पनि पीडिततर्फका वकिलहरूले बहस गर्ने सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिनुभयो।
आइतबार पीडिततर्फ सरकारी वकिलसहित ९ जना वकिलले बहस गर्नुभएको थियो। सोमबार पनि त्यही संख्यामा वकिलहरूले बहस गर्ने संभाबना छ।
आज सुरूमा जाहेरवालाको तर्फबाट सरकारी वकिलमा उच्च सरकारी वकिल कार्यालय सुर्खेतका निमित्त न्यायाधिवक्ता डम्बरप्रसाद काफ्लेले बहस गर्नेछन्। त्यसपछि जाहेरवालातर्फकै निजी वकिलले बहस गर्ने सूचना अधिकारी कोइरालाले बताउनुभयो।
आइतबार सरकारी वकीलहरू चन्द्रबहादुर सिंजाली र सहायक सरकारी वकिल राजेन्द्र रेग्मीले आइतबार बहस गर्नुभएको थियो । पीडिततर्फका निजी वकिलमध्ये वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी समेत ७ जनाले बहस गर्नुभएको थियो ।
उक्त मुद्दामा बहस गर्न २४ जना वकिलले रुकुम जिल्ला अदालतमा नाम दर्ता गराएका छन्। त्यसमा थप हुन सक्ने सूचना अधिकारी कोइरालाले बताउनुभयो। २४ जनामध्ये पीडित पक्षबाट १७ जना वकिल छन् भने प्रतिवादीतर्फ बहस गर्न सात जना वकिल छन्।
मंगलबारसम्म उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने अदालतले जनाएको छ। मुद्दाको अन्तिम फैसला आउन भने केही दिन लाग्नेछ।
साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो। उक्त दिन भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकासँग विवाहको कुरा गर्न पुग्नुभएको थियो।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए। मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो।
घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानबिन समितिले उक्त घटना नियोजित रुपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।
घटनाको अनुसन्धानका क्रममा सोती गाउँका ३४ जनालाई प्रतिवादी बनाएर प्रहरीले रुकुम पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रतिवादीहरूविरूद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय मागदाबी गरिएको छ।
यो घटनाका अभियुक्तमध्ये २३ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। २ जना बालकसहित ११ जनालाई तारेखमा छोडिएको थियो।
