तुलसीपुर, चैत्र २८
तुलसीपुर उपमहानगरपालिकाको कक्षा ८ को नगरस्तरीय परीक्षा नतिजामा गत वर्ष सामुदायिक विद्यालयतर्फ १७ दशमलव ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यो वर्ष त्यो संख्या बढेर ३२ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयतर्फ गत वर्ष ७९ दशमलव ४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा अहिले ८३ दशमलव २ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यो वर्षको नगरस्तरीय परीक्षाको नतिजा सुधार हुनुमा केही विद्यालयहरुको उत्साहजनक रुपमा मेहनत गरेको तुलसीपुर उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो । ‘स्थानीय सरकारले नगरस्तरीय परीक्षाको नतिजा सुधारका लागि विभिन्नखालका तालिम तथा अभियानहरु चलाउँदै आएको छ ।
सामुदायिक विद्यालयतर्फ तुलसीपुर–१२ को पशुपति मावि हरिपौरी ९४ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर तुलसीपुरमा सबैभन्दा अग्रस्थानमा छ भने तुलसीपुर–१७ को सहिदस्मृति मावि वनकट्टी ८७ दशमलव ५० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर दोस्रो स्थानमा छ । त्यस्तै तुलसीपुर–४ को दीपज्योति आवि घोरानेटीले ८६ दशमलव ६७ प्रतिशतसहित तृतीय र शान्ति मावि नवलपुर ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर चौथो स्थानमा छन् । दीपज्योति आवि घोरानेटीमा एकजना मात्रै दरबन्दीको शिक्षक हुँदा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको महाशाखा प्रमुख भण्डारीले बताउनुभयो ।
कक्षा ८ को परीक्षामा सहभागी भएका ३७ वटा विद्यालयमध्ये तीनवटा विद्यालयले एकजना विद्यार्थी पनि पास गराउन सकेनन् । शून्य नतिजा ल्याउनेमा ३ नं। वडाको मावि प्रतापकोट, १० नं। वडाको जनजागृति मावि पातु वनगाउँ र १८ नं। वडाको मावि बेलझुण्डी रहेका छन् । जनजागृति माविको यो नतिजा आउनु विद्यालयकै कमजोरी भएको महाशाखा प्रमुख भण्डारीले दाबी गर्नुभयो ।
नमूना र मेघा विद्यालयकै नतिजा चिन्ताजनक
तुलसीपुर–४ मा रहेको गुरु जजुर नमूना मावि रक्षाचौर र मावि तुलसीपुर सेन्टर (मेघा विद्यालय) को नतिजा चिन्ताजनक देखिएको छ । नगरस्तरीय परीक्षामा नमूना विद्यालय गुरुजजुरले २६ दशमलव शुन्य ५ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ भने मावि तुलसीपुर सेन्टरले ४० दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । गत वर्ष नतिजा सन्तोषजनक थियो तर यो वर्षको नतिजा चिन्ताजनक भएको भन्दै अनपेक्षित नतिजा सामना गर्नुपरेको गुरुजजुर नमूना माविका प्रधानाध्यापक विष्णुकुमारी आचार्यले बताउनुभयो । ‘यो वर्ष दुई सय ३८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
नमूना विद्यालयकै तीन चौथाई विद्यार्थी अनुत्तीर्ण र मेघा परियोजना सञ्चालित विद्यालयमा ६० प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुलाई स्वाभाविक मान्न नसकिने शाखा प्रमुख भण्डारीले बताउनुभयो ।
त्यस्तै विगतमा राम्रो मानिएका र दरबन्दी पनि पूर्ण भएका विद्यालयहरुको नतिजा पनि चिन्ताजनक छ । जनता संस्कृत मावि बिजौरीबाट परीक्षामा ६६ जना, सिर्जनशील आवि छोटेबाट ३१ जना, मावि भित्री सक्रामबाट २४ जना र आवि लोहाडबरा खौसापुरबाट १३ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा एक÷एक जना मात्रै उत्तीर्ण भएका छन् । त्यस्तै जनश्रम मावि खाद्रेबाट २५ जना र बाल चेतना आवि धमकापुरबाट १६ जना सहभागी भएकोमा तीनजना मात्रै उत्तीर्ण भएका छन् । तुलसीपुरबाट शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयतर्फ एक हजार सात सय ९३ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये पाँच सय ८५ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् भने एक हजार दुईसय आठजना विद्यार्थी अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णमध्ये सात सय ९० जना दुई विषयमा उत्तीर्ण छन् भने चार सय ८१ जना दुई भन्दाबढी विषयमा अनुत्तीर्ण भएका छन् ।
संस्थागत विद्यालयमा तीन सय ९६ विद्यार्थी अनुत्तीर्ण
संस्थागत विद्यालयतर्फ यो वर्ष दुई हजार तीन सय ५७ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये तीन सय ९६ जना अनुत्तीर्ण भएका छन् । २३ जना दुई वटाभन्दा बढी विषयमा अनुत्तीर्ण हुनु चिन्ताको विषय भएको शाखा प्रमुख भण्डारीले बताउनुभयो । ‘संस्थागत विद्यालयलाई पनि धेरै सुधार गर्नुपर्नेछ । संस्थागत विद्यालयमा गणित, विज्ञान र सामाजिक विषयमा विद्यार्थीहरु कमजोर देखिएका छन् ।
उत्कृष्ट अंक ल्याउनेमा ज्ञानज्योति र गोरखाको दाबी
अहिलेको नतिजाअनुसार उच्चतम अंक प्राप्त गरेको ज्ञानज्योति मावि र गोरखा माविले दाबी गरेका छन् ।
आफ्नो विद्यालयका विद्यार्थीले तीन दशमलव ९७ जिपिए ल्याएर नगरस्तरीय परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको दुबै विद्यालयको दाबी छ ।
गोरखा माविका प्रिन्सिपल विजय जीएमले यो वर्ष आफ्नो विद्यालयले संख्यात्मक नतिजामा सुधार ल्याएको जानकारी दिनुभयो ।

