दाङ,१३ भदौ ।
लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन गरिएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि ‘लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल’ गठन गरिएको जानकारी दिनुभयो ।
यातायात क्षेत्रलाई व्यवस्थित गरिनु पर्ने भन्दै गुनासो आएपछि मन्त्रालयले यसको समस्या समाधानका लागि कार्यदल गठन गरेको हो ।
उद्योग,पर्यटन तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रतिनिधि,आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि,आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत,सूचना प्रविधि प्रतिष्ठानका प्रतिनिधि,यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी चालक अनुमती पत्र) का प्रमुख,यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी)का प्रमुख,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रतिनिधि, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मेकानिकल ईञ्जिनीयर र मन्त्रालयका यातायात शाखा प्रमुख सदस्य रहेका छन् ।
१० सदस्यीय कार्यदलले प्रदेश यातायात सम्बन्धी प्रवाह हुँदै आइरहेको सेवा प्रवाहमा देखिएका नीतिगत जटिलताका बारेमा अध्ययन गर्ने छ ।
यातायात सेवा प्रवाहमा देखिएका कानुनी जटिलता सम्बोधनका लागि अध्ययन गरिने र सोही अध्ययन अनुसार आवश्यक पहलकदमी लिईने मन्त्री न्यौपानेले जानकारी दिनुभयो ।
यसैगरि प्रशासनीक एवं व्यवस्थापकीय समस्या, अन्तर मन्त्रालय समन्वय र भूमिकाका बिषयमा समेत कार्यदलले अध्ययन गरेर प्रतिवेदन तयार गर्ने भएको छ । सोही प्रतिवेदनका आधारमा मन्त्रालयले समग्र यातायात क्षेत्रको सुदृढिकरण एवं व्यवस्थापनको आगामी कार्ययोजना तथा मार्गदर्शन निर्माण गर्ने मन्त्री न्यौपानेले जानकारी दिनुभयो ।

