दाङ, श्रावण २२
गत आर्थिक वर्ष दाङमा ८ वटा मातृ मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिकामा सबै भन्दा धेरै ४ र घोराही, दंगीशरण, बबई र राप्तीमा एक÷एक केश रहेका छन् । हेल्थ टुडे मिडिया प्रालिको आयोजनामा मिडिया सचेतनाः सुरक्षित गर्भपतनका लागि जवाफदेहीता विषयक कार्यक्रममा यो तथ्यांक प्रस्तुत गरिएको थियो । स्वास्थ्य कार्यालय दाङकी सुरक्षित मातृत्व फोकलपर्सन रीता न्यौपानेका अनुसार देशभरमा सबै भन्दा धेरै मातृ मृत्यु लुम्बिनी प्रदेशमा भइरहेको बताउँनुभयो । असुरक्षित गर्भपतनकै कारण पनि मातृ मृत्यु बढेको उहाले भन्नुभयो । जिल्लामा २९ स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा भइरहेको जानकारी दिनुभयो । गर्भपतनको जटिलता भएका केश पनि रहेको बताउँदै मेडिकल पछिको जटिलता भएका आठ र सर्जिकलपछिको जटिलता भएका दुई केश गत आर्थिक वर्ष २०८०÷०८१ मा देखिएको जानकारी दिनुभयो । असुरक्षित गर्भपतनका कारण पनि मातृ मृत्यु कम हुन नसकेको उहाँको भनाई छ ।
कार्यक्रममा असुरक्षित गर्भपतनका कारणले हुने मातृ मृत्यु कम गर्न, अनिच्छित गर्भपतन, असुरक्षित गर्भपतन रोक्न गर्भपतनको व्यवस्था स्वास्थ्य संस्थामा भए पनि मनपरी ढंगले गरिने असुरक्षित गर्भपतन चुनौतीको विषय भएको औंल्याइएको थियो । कार्यक्रममा जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार नेपालमा गर्भवती भएका महिलामध्ये १९ प्रतिशत महिलाको गर्भपतन हुने गरेकोमा १० प्रतिशतले गर्भपतन गराउने गरेको जानकारी दिइएको थियो । सोही अवसरमा गर्भपतनका लागि दुई विधि औषधिको माध्यम र भ्याक्युम एस्पिरेसन (एमभीए) प्रयोग भइरहेको बताइएको थियो ।

