आषाढ २
लुम्बिनी प्रदेशका अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति व्यवस्थापन नहुँदा कार्यसम्पादनमा ठूलो असर परेको छ ।
प्रदेश सरकार मातहतमा १४ वटा अस्पताल छन् । अस्पताल र स्वास्थ्यसम्वन्धी कार्यालयमा एक हजार ७ सय ७० कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म जम्मा पाँच सय ७४ जना मात्रै कर्मचारी पदपूर्ति भएको छ । बाँकी एक हजार एक सय ८६ रिक्त दरबन्दी छ । पदपूर्ति नहुँदा करारमा कर्मचारी भर्ना गरेर सेवा प्रवाहलाई सहज बनाउन खोजिएको छ । तर ठूलो संख्यामा दरवन्दी रिक्त हुँदा सेवामा सहजता आउन सकेको छैन । स्वास्थ्य मन्त्रालयमा ३७ जनाको दरबन्दी हो । तर, अहिले ५ जनाको मात्रै पदपूर्ति भएको छ । मन्त्रालयमा ३२ रिक्त दरबन्दी छ । निर्देशनालयमा ३२ जनाको दरबन्दी हो । निर्देशनालयमा हाल १२ जनाको पदपूर्ति भएको छ भने निर्देशनालयमा २० रिक्त दरबन्दी छ । तालिम केन्द्रमा १३ जनाको दरबन्दी हो । अहिले ७ जनाको पदपूर्ति भएको छ भने ६ रिक्त दरबन्दी छ । आपूर्ति शाखामा १७ जनाको दरबन्दी हो । अहिले ९ जनाको पदपूर्ति भएको छ भने ८ रिक्त दरबन्दी छ ।
जनस्वास्थ्यतर्फ १४ जनाको दरबन्दी हो । अहिले ६ जनाको मात्रै पदपूर्ति भएको छ भने ८ जनाको दरबन्दी रिक्त छ । प्रदेश अन्तर्गत १३ वटा आयुर्वेद अस्पताल तथा औषधालय छन् । जहाँ एक सय १७ जनाको दरबन्दी हो । तर, ६७ जनाको मात्रै दरबन्दी पदपूर्ति भएको छ । बाँकी ५० जनाको रिक्त दरबन्दी छ । १२ वटा स्वास्थ्य कार्यालयमा एक सय ६४ जनाको दरबन्दी हो । अहिले ६७ जनाको मात्रै पदपूर्ति भएको छ । बाँकी ४७ जनाको दरबन्दी रिक्त छ ।
डाक्टरहरुको दरबन्दी ५० प्रतिशत भन्दा कम छ । ७५ प्रतिशत भन्दा बढी बिशेषज्ञ चिकित्सकहरु शहर केन्द्रित अस्पतालमा छन् । बिशेषज्ञ सेवा चाहिने सेवाग्राहीले महिनौं पालो कुर्नुपर्ने बाध्यता छ । बिशेषज्ञ डाक्टरको पदपूर्ति ४८।८ प्रतिशत, एमडिजिपी डाक्टरको पदपूर्ति ३३।३ प्रतिशत, मेडिकल अधिकृत डाक्टरको पदपूर्ति ३२।४ प्रतिशत मात्रै भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
जनशक्ति अभावले लुम्बिनी प्रदेशका अस्पतालमा रहेका सबै औजार, उपकरणहरु पनि प्रयोगमा आउन सकेका छैनन् । स्वास्थ्य संस्था तथा अस्पतालहरुमा गरिएको एउटा सर्वेक्षणले अस्पतालहरुमा रहेका सबै औजार, उपकरणहरुको प्रयोग नहुँदा उपचार सेवा उपभोग गर्नबाट सेवाग्राही बञ्चित हुनुपर्ने अवस्था छ । प्रदेशका १४ वटा अस्पतालमा चार हजार ६ सय ७० उपकरण भएकोमा जम्मा तीन हजार ६५ वटा मात्रै प्रयोगमा आएका छन् । बाँकी एक हजार ६ सय ५ वटा उपकरण प्रयोगमा आउन नसकेको पाइएको छ । जम्मा ६५ प्रतिशत मात्रै उपकरण प्रयोगमा आएको देखिएको हो । रुकुमपूर्वको जिल्ला अस्पतालमा एक सय वटा उपकरण भएकोमा जम्मा २६ वटा प्रयोगमा छन् ।
यस प्रदेश सरकारले आफ्नो कूल विकास बजेटको स्वास्थ्य क्षेत्रमा ७ देखि ८ प्रतिशत बजेट विनियोजन गर्दै आएको छ । स्वास्थ्य क्षेत्र संवेदनशील भए पनि यसलाई प्राथमिकतामा राख्न नसकिएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले बताउनुभयो । ‘धन सम्पत्ति छ तर, स्वास्थ्य छैन भने त्यसको कुनै काम छैन । स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सबै निकायले ध्यान दिनैपर्छ’ मन्त्री पुनले भन्नुभयो, ‘हामीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु हल गर्दै जानुपर्नेछ ।’ स्वास्थ्य क्षेत्रमा रहेका कमी कमजोरी सुधार गर्दै भावी योजना निर्माणको बारेमा स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग छलफल गरिएको छ । स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु एक्लो प्रयासले मात्रै समाधान नहुने भन्दै सामूहिक प्रयासका लागि सबैको साथ चाहिने बताउनुभयो ।