काठमाडौं, साउन १८
नेकपा एमालेको स्थायी कमिटी रहेका मणि थापा पदमुक्त हुनुभएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उहाँ २०७९ को निर्वाचनदेखि पार्टीमा निष्क्रिय रहँदै आउनुभएको थियो । २०८० को साउनमा बसेको सचिवालय बैठकले पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय गरेको थियो।
बिहीबार बसेरा होटलमा बसेको एमाले सचिवालयको ३४ औं बैठकले स्थायी कमिटीको दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरिसकेको छ। न्यौपाने एकीकृत समाजवादी छोडेर एमालेमा आउनुभएको हो । श्रेष्ठ पोलिट्ब्यूरोबाट बढुवा हुनुभएको छ ।
यसअघि स्थायी कमिटी सदस्य रहेका गुरू बराल उपाध्यक्ष मनोनीत भएपछि उनको स्थान खाली भएको थियो। अर्को मणि थापा पद मुक्त भएपछि ठाउँ खाली भएको हो। एमालेका नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय हुनुभएको थिएन । मंसिर ४ गतेको निर्वाचनमा उहा गृहजिल्ला प्युठानका दुई वटा जति सभामा सहभागी हुनुभयो । प्युठान नगरपालिकाका ८, ९, १० वडाका घरदैलो सभामा बोलाए पनि उँहा जानुभएको थिएन । ‘मिसन ग्रासरूट’ मा उहाको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेश तोकिएको थियो। त्यतिबेला वैशाखदेखि सुरू हुने ‘राष्ट्रका लागि संगीत अभियात्रा’लाई देखाएर थापा कार्यक्षेत्रमा जानुभएको थिएन ।

