घोराही,२ साउन
जिल्ला दररेट निर्धारण समिति दाङले घर भाडाको दर समेत समावेश गरेको छ । सोमबार आर्थिक वर्ष २०८१÷०८२ का लागि निर्धारण गरेको दररेटमा दाङ जिल्लाको उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा छुट्टा छुट्टै दररेट राखिएको छ ।
जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेको घरभाडाको दररेट अनुसार कर समेत जोडेर घरभाडा प्रति महिना प्रतिवर्गफिट २५ देखि ३५ रुपैयाँसम्म निर्धारण भएको छ । जसमा उपमहानगरपालिकामा प्रतिबर्गफिट मासिक भ्याटसहित ३५ रुपैयाँ, नगरपालिकामा ३० रुपैयाँ र गाउँपालिकामा २५ रुपैयाँ निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं दररेट निर्धारण समितिका संयोजक रामबन्धु सुवेदीले जिल्लामा पहिलो पटक घरभाडा दर निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले हाललाई उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको दररेट निर्धारण गरिएको जानकारी दिनुभयो ।
‘निर्धारित भाडा दर अनुसार उपमहानगरपालिकामा एउटा कोठाको औसतमा तीन हजार पाँच सय, नगरपालिकामा तीन हजार र गाउँपालिकामा दुई हजार पाँच सयको दर निर्धारण भएको छ । यो सय वर्ग फिटसम्मको कोठाको हकमा हो ।’ प्रमुख जिल्ला अधिकारी एवं दररेट निर्धारण समितिका संयोजक सुवेदीले पछिल्लो प्रविधिको विकाससँगै बजारमा आएका नवीनतम सामग्रीको पनि दररेट निर्धारण गरिएको बताउनुभयो । उहाँका अनुसार मजदुरको ज्याला पनि केही बढाइएको छ ।
जिल्ला दररेट निर्धारण समिति दाङले आर्थिक वर्ष २०८१÷०८२ का लागि जिल्लामा कामदारको ज्याला तोकेको छ । सरकारी रेटअनुसार दक्ष सिकर्मी, नकर्मी, डकर्मीको दैनिक ज्याला आर्थिक वर्ष २०८०÷०८१ को भन्दा २५ रुपैयाँ बढाएर दैनिक एक हजार रुपैयाँ कायम गरिएको छ । अदक्ष कुल्ली ज्यामीको ३० रुपैयाँ बढाएर छ सय ५० रुपैयाँ कायम गरिएको छ । यो वर्ष ज्यामी नाइकेको ज्याला प्रतिदिन ३५ रुपैयाँ बढाएर छ सय ६० रुपैयाँ, भरिया र स्प्रे म्यानको ३० रुपैयाँ बढाएर दैनिक छ सय ६०, स्प्रे नाइके फोरम्यान, सुपरभाइजरको ४० रुपैयाँ बढाएर दैनिक छ सय ९० रुपैयाँ, सिनियर सुपरभाइजरको ४५ रुपैयाँ बढाएर सात सय ३० रुपैयाँ, असिस्टेन्ट सवइन्जिनियर सरहका सुपरभाइजर र सवइन्जिनियरसरहका सुपरभाइजरको शुरुको तलब स्केललाई ३० ले भाग गरी आउने रकम दैनिक ज्याला कायम गरिएको छ ।

त्यसैगरी समितिले इलेक्ट्रिसियन (हाउस वायरिङ)को ४० रुपैयाँ बढाएर सात सय ३० रुपैयाँ प्रतिदिन, नर्सरी नाइकेको ८१ रुपैयाँ बढाएर एक हजार चार सय ३१ रुपैयाँ, लेन्थ म्यानको ४० रुपैयाँ बढाएर छ सय ६० रुपैयाँ, अतिजोखिमयुक्त काम गर्ने दक्ष श्रमिकको ४० रुपैयाँ बढाएर एक हजार एक सय ४० रुपैयाँ, अति जोखिमयुक्त काम गर्ने अदक्ष श्रमिकको ५० रुपैयाँ बढाएर आठ सय १० रुपैयाँ, सामाजिक परिचालकको ४० रुपैयाँ बढाएर दैनिक छ सय ८० रुपैयाँ, कडा मेहनत गर्ने कृषि श्रमिकको ४० रुपैयाँ बढाएर प्रतिदिन छ सय ८० रुपैयाँ, सामान्य मेहनत गर्ने कृषि श्रमिक, चेन म्यान, स्टाफ म्यान र सर्वे हेल्परको पनि ४० रुपैयाँ बढाएर छ सय ६० रुपैयाँ कायम गरिएको छ । प्लम्बर (दक्ष) को ४० रुपैयाँ बढाएर प्रतिदिन सात सय रुपैयाँ, डिजेल पम्पसेट हेल्पर, क्याम्प वर्कर र सवारी साधन हेल्परको पनि ४० रुपैयाँ बढाएर छ सय ६० रुपैयाँ प्रतिदिन, स्याम्पर र खनेलको पनि ४० रुपैयाँ बढाएर सात सय २० रुपैयाँ, स्यालो ट्युबेल जडान गर्ने हेड मिस्त्रीको ७० रुपैयाँ बढाएर दैनिक एक हजार दुई सय र सहायक मिस्त्रीको ४५ रुपैयाँ बढाएर सात सय ६० रुपैयाँ प्रतिदिन, डोजर अपरेटरको ५५ रुपैयाँ बढाएर नौ सय ४० रुपैयाँ, विद्युत मिटर रिडर र लाइनमेन चालु वितरण लाइन (४०० भोल्ट) मा सुरक्षा अपनाई पोल चढेर लाइन मर्मत गर्न सक्नेको दैनिक ज्यालामा ५० रुपैयाँ बढाएर आठ सय रुपैयाँ तोकिएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *