रुकुमपश्चिम,१ साउन
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा कम्तिमा एक जनाको मृत्यु भएको छ । तीन जना घरभित्रै च्यापिएका छन् । गएराति गिजा खोलामा आएको बाढीको चपेटामा उनीहरु परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बखत शाहीले दिएको जानकारी अनुसार घटनामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको सनाखत भने भइसकेको छैन ।
‘एक जनाको शव बाहिरै फेला परेको छ । अरु तीन जना घरले च्यापिएको अवस्थामा छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन,’ प्रहरी निरीक्षक शाहीले भन्नुभयो ।
उहाका अनुसार बाढीपहिरोमा परी केही घाइते भएका छन् । घाइतेहरुलाई स्थानीयले राति नै उद्धार गरेर अस्पताल पठाईएको थियो ।
आज बिहान प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी प्रमुख नवराज पोख्रेल सहित जिल्ला विपद व्यवस्थापनको टोली उद्धारका लागि घटनास्थल पुगेको छ ।
आठबिसकोट नगरपालिकाकै वडा नम्बर १२ मा पनि बाढी–पहिरोले केही घरमा क्षति पुर्‍याएको प्रारम्भिक सूचना आएको छ । वडा नम्बर १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले क्षति पुर्‍याएको भनिए पनि विस्तृत विवरण आउन सकेको छैन ।
आठबिसकोट नगरपालिका वडा नम्बर ११ स्थित धुर्सेनी बस्ती पनि शोभा खोलाको बाढीका कारण जोखिममा परेको स्थानीयले बताएका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *