दाङ,११ असार
असार १० भित्र दाङका दशवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएका छन् ।
तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, दंगीशरण, शान्तिनगर,बबईले असार १० गतेका दिन वजेट ल्याए भने असार ९ गते घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र बंगलाचुली गाउँपालिकाले वजेट ल्याएका थिए । असार १० गते वजेट ल्याउनै पर्ने संवैधानिक प्रावधानअनुसार स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्यापर्ने छ ।
तुलसीपुर उपमहानगरपालिकाले २ अर्व ७ करोड
तुलसीपुर उपमहानगरपालिकाले २०८१÷०८२ का लागि नीति कार्यक्रम तथा बजेट सोमवार १५ औं नगरसभामार्फत एकै दिन सार्वजनिक गरेको छ । सभाको दोस्रो बैठकमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । आव २०८०÷०८१ मा १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट ल्याएको तुलसीपुरले यस गतवर्षको तुलनामा २१ करोड १ लाख ८९ हजार ८१ रुपैयाँ बढी बजेट प्रस्तुत गरेको हो ।
चालु खर्चतर्फ १ अर्ब ३६ करोड १८ लाख ५ हजार १ सय ५२ अर्थात् कुल बजेटको ६५।६३ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै पूँजीगत खर्चतर्फ ६९ करोड ३१ लाख ६३ हजार १ सय ९९ अर्थात् कुल बजेटको ३३।४१ प्रतिशत विनियोजन भएको छ भने वित्तीय खर्चतर्फ २ करोड रुपैयाँ विनियोजन भएको छ । जुन कुल बजेटको ०।९६ प्रतिशत हो ।
विनियोजित कुल बजेट रकममध्ये आन्तरिक स्रोतबाट ३० करोड, स्थानीय तह राजश्व बाँडफँँड मालपोत रजिष्टे« शनबाट १३ करोड, ढुंगा गिट्टी दहत्तर बहत्तरबाट १५ करोड, अल्या मौज्दात ठेक्का रद्दबाट बचत रकम ३ करोड ३३ लाख ७० हजार र विज्ञापन कर १४ लाख ५० हजार गरी कुल आन्तरिक आम्दानी ६१ करोड ५१ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान २७ करोड ९६ लाख, सशर्त अनुदान ७४ करोड ९१ लाख, समपुरक अनुदान १ करोड ४५ लाख, र राजश्व बाँडफँँड २४ करोड ३९ लाख, खानी र वन रोयल्टी ४ लाख ९४ हजार गरी कुल १ अर्ब २८ करोड ७७ लाख ४२ हजार रुपैयाँ प्राप्त हुनेछ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरुमा समानीकरण अनुदान २ करोड ३ लाख ९७ हजार, सशर्त अनुदान १ करोड ६५ लाख ६२ हजार, समपुरक अनुदान १ करोड ४० लाख, राजश्व बाँडफाँड प्रदेश २ करोड ११ लाख ३० हजार ७ सय ५० गरी कुल ७ करोड २० लाख ८९ हजार ७ सय ५० रुपैयाँ र अन्य संघ संस्था अनुदानमा नगर विकास कोष ऋण ८ करोड ५० लाख, युनिसेफ अनुदान २५ लाख र सडक वोर्ड नेपालबाट १ करोड २५ लाख गरी जम्मा १० करोड कुल आम्दानी हुने अनुमान गरिएको छ ।
बजेट विनियोजनमा शिक्षालाई प्राथमिकता दिइएको छ । जसअन्तर्गत कुल बजेटको ३०।५७ प्रतिशत अर्थात् ६३ करोड ४२ लाख ४९ हजार रुपैयाँ बजेट शिक्षामा विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ९ करोड ५९ लाख ४० हजार कुल बजेटको ४।६२ प्रतिशत, कृषितर्फ ५ करोड ४८ लाख १४ हजार कुल बजेटको २।६४ प्रतिशत, पशुतर्फ २ करोड ११ लाख ८४ हजार ५ सय ७५ रुपैयाँ कुल बजेटको १।०२ प्रतिशत तथा अन्यतर्फ १ अर्ब २६ करोड ८७ लाख ८० हजार ७ सय ७६ रुपैयाँ ६१।१५ प्रतिशत रकम विनियोजन गरिएकोे छ ।
लमहीको बजेट ८४ करोड ५१ लाख
लमही नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ को बार्षिक नीति तथा कार्यक्रम र बजेट एकै दिन प्रस्तुत गरेको छ । नगर प्रमुख जोगराज चौधरीले समृद्ध नगर निर्माणका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, उद्यमशिलतालगायतलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुखको अनुपस्थितिमा वडा नं। ३ का अध्यक्ष मनोज चौधरीले ८४ करोड ५१ लाख २४ हजार रुपैयाँको बजेट सभामा प्रस्तुत गर्नुभयो ।
संघीय सरकार समानीकरण अनुदान १४ करोड ६ लाख, संघीय राजश्व बाँडफँँड १४ करोड ६ लाख, संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख ५ हजार, पुँजीगततर्फ १० करोड ३६ लाख, संघीय सरकार समपुरक अनुदान एक करोड ५० लाख, प्रदेश सरकार समानीकरण अनुदान ९९ लाख २ हजार, सशर्त अनुदान ११ करोड ९६ लाख २ हजार, समपुरक अनुदान १० लाख पाँच हजार, प्रदेश राजश्व बाँडफाँड सवारी साधन कर १७ करोड ६९ लाख ५ हजार, आन्तरिक श्रोत ८ करोड १४ लाख ५५ हजार, राजश्व बाँडफाँड स्थानीय ६ करोड, बैंक मौज्दात २ करोड, लमही अस्पताल आन्तरिकतर्फ एक करोड १० लाखको स्रोत अनुमान गर्दै बजेट ल्याइएको छ ।
लमही नगरपालिकाले प्रशासनिक खर्चतर्फ १५ करोड, भुक्तानी बाँकी ४ करोड ५० लाख, समपुरक कोषमा ३ करोड, क्रमागत आयोजनाका लागि ४ करोड, शिक्षा युवा तथा खेलकुद शाखाका लागि ३ करोड, स्वास्थ्य शाखाका लागि ५० लाख, कृषि शाखाका लागि ७० लाख, पशुसेवा शाखाका लागि ५० लाख, विपद् व्यवस्थापन तथा सरसफाई शाखाका लागि २५ लाख, न्यायिक समिति १० लाख, विपद् व्यवस्थापन कोष ७७ लाख ६७ हजार, पूर्वाधार शाखा ४ करोड ५० लाख बजेट प्रस्तुत गरिएको छ ।
त्यस्तै योजना शाखा ५ लाख, लमही अस्पताल एक करोड, आयुर्वेद शाखा १५ लाख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा २५ लाख, उपभोक्ता हित संरक्षण शाखा ५ लाख, सूचना तथा प्रविधि शाखा ५ लाख, जनतासँग मेयर कार्यक्रम ६५ लाख, जनतासँग उपमेयर कार्यक्रम ५५ लाख, सुशासन तथा संस्थागत विकास शाखा ५ लाख, सहकारी ५ लाख, लघु उद्यम विकास कार्यक्रम १० लाख बजेट विनियोजन गरिएको छ ।
राजश्व शाखा ५ लाख, सामी कार्यक्रम १० लाख ८५ हजार, भूमि व्यवस्थापन शाखा ७ लाख, वडा नं. १ देखि ९ सम्म ७८ लाखको दरले ७ करोड २ लाख बजेट विनियोजन गरिएको छ । ‘नगर समृद्धिको आधार, गुणस्तरीय तथा प्राविधिक शिक्षाको विस्तार’ भन्ने मूल नारालाई आधार बनाई सभ्य सु–संस्कृत प्रतिस्पर्धी र आत्मविश्वासी नागरिक बनाउन प्रभावकारी शिक्षण र गुणस्तरीय सिकाइमा विशेष जोड दिइएको छ । कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गराई सामुदायिक विद्यालयहरुले प्रदान गरेको सेवाको कदर गर्दै प्रत्येक शुक्रवार कितावरहित सीप सिकाई जोड्दै शैक्षिक गुणस्तरलाई उकास्ने नीति लिइने उल्लेख छ ।
दंगीशरणको बजेट ४३ करोड ३२ लाख
दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ करोड, ३२ लाख १८ हजारको बजेट गाउँसभामा पेश गरेको छ ।
गतवर्ष ४४ करोड, ११ लाख ८२ हजार बिनियोजन गरेको दंगीशरण गाउँपालिकाले यसपटक वजेटको सिलिङ घटाएको छ । गतबर्ष भन्दा ७९ लाख ६४ हजार बजेट घटेर आएको दंगीशरण गाउँपालिकाले जनाएको छ । दंगीशरण गाउँसभाको १७ औ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष पिमा खड्काले सोमबार गाउँसभामा वजेट पेश गर्नुभएको हो । दंगीशरणले नयाँ वजेट शिक्षा, स्वास्थ्य, कृषि श्रम र उद्यमशिलता केन्द्रित ल्याएको जनाएको छ ।
चालुतर्फ २८ करोड, १४ लाख, ६८ हजार बिनियोजन गरिएको छ । जुन कुल बजेटको ६४।९७ प्रतिशत हुन आउँछ । त्यसैगरी पुँजीगततर्फ १५ करोड, १७ लाख, ५० हजार रुपैया बिनियोजन गरिएको छ । जुन ३५।०३ प्रतिशत हो । सशर्त अनुदान वापत संघीय सरकारबाट प्राप्त हुने १६ करोड ९७ लाख, ६ हजार, संघीय विशेष अनुदान १ करोड ८० लाख, संघीय समपुरक अनुदान ५० लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फको रु ७० लाख र प्रदेश समपुरक अनुदान तर्फको रु ७० लाख बजेट बिनियोजन गरिएको छ भने गाउँपालिकाबाट बिषयगत क्षेत्रका लागि ६ करोड, २४ लाख ८२ हजार बिनियोजन गरिएको छ ।
यस्तै आर्थिक बिकासतर्फ ७२ लाख, ५० हजार, सामाजिक विकासतर्फ ३ करोड ३ लाख ५७ हजार, पूर्वाधार विकास क्षेत्रमा २ करोड ५ लाख, वन वातावरण तथा विपद ब्यबस्थापनमा १० लाख ५० हजार, संस्थागत विकास तथा सुशासन क्षेत्रमा ३३ लाख २५ हजार, वडागत विकास क्षेत्रका लागि ३ करोड ५० लाख, समपुरक अनुदानबाट सञ्चालन हुने योजनाहरुमा लागत सहभागिताका लागि २ करोड, अनिवार्य दायित्वतर्फ १ करोड २२ लाख, गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरुका लागि १ करोड ५५ लाख बिनियोजन गरिएको छ ।
गढवाको बजेट ६७ करोड ३७ लाख
गढवा गाउँपालिकाले आगामी बर्षका लागि ६७ करोड ३७ लाख २७ हजार बजेट ल्याएको छ । उपाध्यक्ष शारदाकुमारी चौधरीले गाउँसभा बैठकमा चालुतर्फ ४० करोड ८० लाख ९२ हजार र पूँजीगततर्फ २६ करोड ५६ लाख ३५ हजार रुपैयाँको बजेट पेश गर्नु भएको छ । आर्थिक विकास क्षेत्रमा ५ करोड ६४ लाख ८३ हजार, सामाजिक विकासतर्फ १५ करोड १५ लाख १४ हजार, पूर्वाधार विकासतर्फ १९ करोड ६८ लाख २५ हजार, वन तथा वातावरण क्षेत्रमा ९८ लाख, प्रशासनिक खर्चतर्फ २५ करोड ९१ लाख पाँच हजार बजेट प्रस्तुत गरिएको छ ।
गढवा गाउँपालिकाले आगामी तीन बर्षको मध्यकालिन खर्च संरचना समेत प्रस्तुत गरेको छ । आवधिक योजना र बार्षिक योजनाविच समन्वय गराई आवश्यक लक्ष्य हासिल गर्न आर्थिक बर्ष २०८१/०८२ देखि ०८३/०८४ सम्मको मध्यकालिन खर्च संरचना समेत प्रस्तुत गरिएको हो । आगामी बर्षको लागि संघीय सरकार समानीकरण अनुदान १२ करोड ४४ लाख, सशर्त अनुदान २६ करोड ९३ लाख ५१ हजार, समपुरक अनुदान एक करोड ५० लाख, बिशेष अनुदान एक करोड ८५ लाख, राजश्व बाँडफाँड १३ करोड २४ लाख, लुम्बिनी प्रदेश सरकार समानीकरण अनुदान ८५ लाख ८० हजार, सशर्त अनुदान एक करोड २५ लाख, समपुरक अनुदान ७० लाख, बिशेष अनुदान २० लाख, राजश्व बाँडफँँड ८८ लाख ७५ हजार, गाउँपालिकाको आन्तरिक आय ६ करोड ५१ लाख २१ हजार, संचितकोष अल्या हुने अनुमानित रकम एक करोड गरी बजेट पेश गरिएको छ ।
गढवा गाउँपालिकाभित्र उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनलाई खेर जानबाट बचाउने उद्देश्यले शीत भण्डार निर्माणका लागि एक करोड ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै कृषि प्रणालीमा आधुनिकीकरण, प्रविधिकरण तथा वैज्ञानिकीकरण गर्न ३८ लाख ५० हजार, गढवा गाउँपालिकाको शैक्षिक क्षेत्र सुधार गर्न चालु तर्फ ३ करोड ५५ लाख ५९ हजार, विद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत पूँजीगत ५५ लाख बजेट विनियोजन गरिएको छ ।
राजपुरको बजेट ६६ करोड ७९ लाख
राजपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ६६ करोड ७९ लाख ५९ हजार ७ सय ७७ रुपैयाँको बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष धनपतिदेवी यादवले कुल बजेटमध्ये चालुतर्फ ४५ करोड ८९ लाख ५९ हजार ७ सय ७७ रुपैयाँ र पुँजीगततर्फ २० करोड ८० लाख रुपैयाँ बजेट प्रस्तुत गर्नुभयो ।
आगामी बर्ष आन्तरिक राजश्वबाट १२ करोड ६५ लाख, मौज्दात रकम २० लाख , संघीय सरकार वित्तिय सामानीकरणबाट ९ करोड ५४ लाख, राजश्व बाँडफँँडबाट १२ करोड १२ लाख, प्रदेश सरकार वित्तीय सामानीकरणबाट ६३ लाख ९५ हजार, राजश्व बाँडफँँडबाट १ करोड १ लाख ३५ हजार, समपुरक अनुदान पूँजीगत ७० लाख, संघीय सशर्त अनुदानबाट १८ करोड ८३ लाख ५७ हजार, प्रदेश सशर्त अनुदानबाट ८० लाख आय प्राप्त हुने अनुमान सहित बजेट प्रस्तुत गरिएको हो । आर्थिक विकास अन्तर्गत कृषि, उद्योग, पर्यटन, सहकारी जलश्रोत तथा सिंचाई, बन तथा वातावरण, बित्तीय, भूमि व्यवस्था, पशुपंछी तथा मत्स्य विकास, आपूर्तिलगायत आर्थिक विकासतर्फ ५ करोड १२ लाख, शिक्षा, यूवा तथा खेलकुद, स्वास्थ्य, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, खानेपानी तथा सरसफाई, भाषा, संस्कृति तथा सामाजिक सुरक्षा तथा संरक्षण तर्फ २५ करोड ५७ लाख ९८ हजार, यातायात पूर्वाधार, भवन, आवास तथा सहरी विकास, विद्युत तथा उर्जा, निर्मित सार्वजनिक पूर्वाधारको मर्मत संभार, सम्पदा लगायतका पूर्वाधार विकासको क्षेत्रमा २० करोड ४१ लाख बजेट विनियोजन गरिएको छ ।
सुशासन तथा संस्थागत विकास तर्फ १३ करोड २० लाख बजेट विनियोजन गरिएको छ । जस अन्तरगत विपद् व्यवस्थापन, कार्यालयको संस्थागत क्षमता विकास, सूचना प्रविधि व्यवस्थापन, पारदर्शिता अभिबृद्धि तथा वित्तीय जोखिम न्यूनिकरण, सार्वजनिक परिक्षण, सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण, विभिन्न कानून तथा दस्तावेज निर्माण, विभिन्न सफ्टवेयरहरु जडान, न्यायिक काम कारवाहीलाई छिटो छरितो सरल, सहज र कम खर्चिलो हुने गरी सम्पादन गर्न, राजश्व प्रशासनलाई सुदृढ बनाउन, योजना तर्जुमा र कार्यान्वयन गर्न सामाजिक सुरक्षा तथा पञ्जिकरण ब्यवस्थापन, तथ्यांक संकलन र अभिलेख ब्यवस्थापन, वित्तीय सुशासन लगायतमा खर्च गरिनेछ ।
शान्तिनगरको ४३ करोड ६७ लाख
शान्तिनगर गाउँपालिकाले ४३ करोड ६७ लाख ११ हजार बराबरको बजेट ल्याएको छ । जसमा चालुतर्फ २९ करोड ९९ लाख २८ हजार र पूँजिगततर्फ १३ करोड ६७ लाख ८३ हजार रुपैंया रहेको छ । बजेट गत वर्षको तुलनामा करिब ढाई करोड रुपैयाँ घटेको उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीले जानकारी दिनुभयो ।
शान्तिनगरले पालिका मातहतका सम्पूर्ण कार्यालयमा जंकफूड निषेध गर्ने नीति ल्याएको छ भने आव २०८१/०८२ मा ३ वटा गौरवका आयोजना सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत रगंैजा–गिदनिया–चिलरिया हुँदै तिलवारी जाने सडक कालोपत्रे गर्न २ करोड ७० लाख, नयाँबस्ती–बाघखोर–कालापोखरा हुँदै सल्यान जाने सडक कालोपत्रे गर्न ७० लाख र जगतचोकदेखि अमुवा जाने बाटो कालोपत्रे गर्न ७० लाख बजेट विनियोजन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । बजेटको प्राथमिकतामा भने शिक्षा, स्वास्थ्य र कृषिलाई नै दिइएको छ ।
यसैगरी बबई गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८१/८२ का लागि ४७ करोड १० लाखको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष वमकुमारी खड्काले गाउँसभा उक्त बजेट प्रस्तुत गर्नुभएको हो । बबईले सातवटै वडालाई ६० लाखको सिलिङ बाँडेको सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो ।

