रुस–युक्रेन युद्धक्रममा मृत्यु हुने नेपालीको सख्या कम्तिमा ३९ जना

काठमाडौं,११ जेठ

रुस युक्रेन युद्धका क्रममा मृत्यु हुने नेपालीको संख्या कम्तीमा ३९ पुगेको छ ।
रुसी सेनामा भर्ना भएका नेपालीहरु मृत्यु भएको खबर दिनहुँजसो आइरहेका छन् । सरकारसँग आधिकारिक तथ्यांक नभए पनि संगठित मानव तस्करीको आडमा ठूलो संख्यामा नेपालीहरु रुसी भर्ना भएको देखिन्छ ।
परराष्ट्र मन्त्रालयले मात्र हालसम्म रुसी सेनामा भर्ना भएका २२ जना नेपालीको मृत्यु भएको कुरा पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले रुसस्थित नेपाली दूतावासबाट प्राप्त खबर अनुसार र कतिपय पारिवारिक स्रोतबाट गरी मृत्युको पुष्टि गरिएको जानकारी दिनुभयो ।

प्रवक्ता गुरुङका अनुसार ‘रुसबाट आएका नामहरुमात्र सरकारले सार्वजनिक गरेको छ । केहीचाहिँ परिवारिक स्रोतलाई आधार मानेर मृत्यु भनेर पुष्टि गरिएको छ । यद्यपि यो संख्या अझै बढी हुन सक्छ ।’
सरकारी तथ्यांकमा रुस–युक्रेन युद्धमा मारिएको संख्या २२ जनामात्रै भए पनि रुसी सेनामा भर्ना भएका परिवारको स्रोतका अनुसार थप १९ नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये ३८ जना परिवारले अन्तिम दाहसंस्कारसमेत गरिसकेका छन् भने एकजनाको शव परिवारले ल्याउने तयारीमा छ ।

रुसी सेनमा गएका नेपालीका परिवार र आफन्तीहरु ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान’सँग जोडिएका छन् । अभियानकी अभियन्ता कृतु भण्डारीले केहीको शवको फोटो, अस्पतालले पठाएको ‘डेथ सर्टिफिकेट’ र रुसबाट आएको खबरकै भरमा परिवारले मृत्यु भएको कुरा स्वीकार्नु भयो । ‘रुसबाट आएको शवको फोटो, मृत्युको खबरका भरमा पनि परिवारले मृत्युको पुष्टि गरिरहेका छन्’, उहाले भन्नुभयो ।
२०८० कात्र्तिकमा रुसी सेनामा भर्ना भएका स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्याल रुस–युक्रेन युद्धमा मृत्यु भयो । मंसिर २२ गतेसम्म परिवारको सम्पर्कका रहेका उहा त्यसपछि सम्पर्कमा आउनुभएनन् । पछि रुसी सेनामै भएका साथीहरुले उहाको मृत्युको खबर परिवारलाई पठाए ।
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भएर मृत्यु भएका भनिएकाहरुको कुनै पनि परिवार र आफन्तीले अहिलेसम्म शव पाएका छैनन् । उनीहरुले तत्काल शव पाउने संकेत नदेखेपछि परिवारले आफ्नो धर्म संस्कृतिअनुसार शवबिनै कुश र फोटोको दहासंस्कार गरेर काजकिरिया गरेका छन् ।
‘रुस–युक्रेन युद्धमा मृत्यु भएका कुनै पनि नेपालीको लाश ल्याएको छैन’, अभियन्ता भण्डारीले भन्नुभयो, शव नपाउने स्थिति भएपछि परिवारले शवबिनै काजकिरिया गर्नु परेको अवस्था छ ।’

कम्तीमा ३०० सम्पर्कविहीन, ६ जना बन्धक

सरकारसँग रुसी सेनामा गएर घाइते, बेपत्ता भएकाहरुको यकिन तथ्यांक छैन । यद्यपि, परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा आएका परिवारको निवेदनका आधारमा सरकारले तथ्यांक संकलन गरिहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका परिवार र आफन्तीले सम्पर्कविहीन भएका ९९, घाइते तथा उद्धारका लागि भनेर १४२ जना गरी २८३ जना परिवारले निवेदन दिएका छन् ।
परिवारीक स्रोतका अनुसार रुसी सेनामा भर्ना भएका कम्तीमा ३ सय नेपाली सम्पर्कविहीन रहेको दाबी गर्छन् । त्यसमध्ये कोही ५ महिनासम्म पनि परिवारसँग सम्पर्कमा छैनन् । त्यस्तै रुस–युक्रेन युद्धमा सहभागी भएका ६ नेपाली युक्रेनको बन्धकमा छन् । बन्धक हुनेमा बर्दियाका विवेक खत्री , काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतीक पुन, चितवनका सुजन सुवेदी र मकवानपुरका ईश्वर लामिछाने हुनुहुन्छ । युक्रेनले नै उहाहरुको भिडियो सार्वजनिक गरेको थियो । त्यस्तै मन्त्रालयका अनुसार हालसम्म रुसी सेनामा भर्ती भएकामध्ये ६५ जना नेपालीहरु स्वदेश फर्केका छन् ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *