काठमाण्डौ, ४ जेष्ठ
हिमालयमा जलवायु परिवर्तन असरको मुद्दा उठाउन जेठ ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय संवाद हुदैछ । जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रमा पारेको प्रभावको बारेमा मुद्दा उठाउनको लागि काठमाडौंमा अन्तर्राष्ट्रिय संवाद हुन लागेको हो । उक्त संवादमा ३० भन्दा बढी देशका ५० भन्दा बढी मुलुकका विषयगत विज्ञ तथा वैज्ञानिकहरु सहभागिता रहनेछ ।
जलवायु परिवर्तनको असर सबैभन्दा बढी हिमालय क्षेत्रका मुलुकहरु र त्यसपछि समन्द्र तटीय क्षेत्रका देशहरुलाई पर्ने देखिन्छ । त्यसैका लागि वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘हिमाल, जनता र जलवायुमा अन्तर्राष्ट्रिय विज्ञ संवाद’ जेठ ९ र १० मा चन्द्रागिरीमा कार्यक्रम हुन लागेको हो ।
उक्त कार्यक्रममा सहभागी हुन लामो समयदेखि जलवायु क्षेत्रमा काम गरेका बंगलादेशका वातावरण, वन र जलवायु परिवर्तन मन्त्री सबेर एच चौधरी नेपाल पनि नेपाल आउँदै हुनुहुन्छ ।
जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख बृद्धिसागर पौडेल नेपाल सरकारले अन्य मुलुक, विदेशी संस्थाहरु मुख्य गरि हिमालय शृंखला क्षेत्रका मुलुकहरु र मित्रहरुसँग हिमालको मुद्दामा उठाउने र त्यसलाई समाधान गर्ने तर्फ काम गर्ने बताउँनुभयो । उहाका अनुसार नेपालले सन् २००९ देखि क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा हिमालको मुद्दालाई उठाउँदै आइरहेको र पछिल्लो समय यसलाई थप प्रभावकारी रुपमा उठाइरहेको प्रष्ट पार्नुभयो ।
नेपालले सगरमाथाको कालापत्थरमा २०६६ मंसिर ११ गते मन्त्रिपरिषद् बैठक आयोजना गरेर नेपालले हिमाली क्षेत्रमा जलवायुले पारेको प्रभावको विषयमा विश्वको ध्यानाकर्षण गर्न खोजेको थियो ।
त्यसको एक सातापछि कोपनहेगनमा आयोजना गरिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको सम्मेलन ९कोप–१५० मा नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको विषयलाई औपचारिक रूपमा उठाएको थियो ।
‘संयुक्त राष्ट्र संघकै प्रतिवेदनहरु हेर्दा जलवायु परिवर्तनको असर संसारको होचो र अग्लो स्थानमा बढी परेको देखिन्छ । त्यसमा पनि पृथ्वीमा समग्र तापक्रमभन्दा हिमालय क्षेत्रमा ०.५ डिग्री सेल्सियस तापक्रम बढी हुन्छ,’ महाशाखा प्रमुख पौडेलले भने,‘त्यसैले पनि नेपालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले परेको असरको बारेमा बढी जोड दिन आवश्यक छ ।’
उहाले अहिलेको कार्यक्रममा हिन्दकुश क्षेत्रमा रहेका मुलुकहरु हिमालय शृंखलामा जोडिएको र त्यहाँ जलवायु परिवर्तनको असर बढी परेको बारेमा कार्यक्रममा छलफल गरिने प्रष्ट पानुभयो ।
सन् १९९२ मा ब्राजिलमा भएको भएको रियो समिटले वातावरण सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा नयाँ ‘ब्लुप्रिन्ट’ ल्याएको थियो । उक्त समिट संयुक्त राष्ट्रसंघीय वातावरण तथा विकास सम्मेलनले गरेको थियो । त्यसबेला समिटले २१ वटा एजेन्डा पारित भएको थियो । जसको च्याप्टर १३ मा हिमालयको दिगो विकासको बारेमा उल्लेख गरिएको छ । त्यहि विन्दुबाट जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको असरको बारेमा चर्चा हुन थालेको हो, जसलाई नेपालले सन् २००९ मा सगरमाथाको आधारशिविर क्षेत्रमा मन्त्रिपरिषद् बैठक गरेर थप विश्वभर फैल्याउने काम गर्यो । त्यसपछि जलवायु परिवर्तनमा हिमालय क्षेत्रमा परेको प्रभावको बारेमा कुनै न कुनै समयमा नेपालले विश्वमन्चमा कुरा उठाउँदै आएको छ । सन् २०२२ मा भएको संयुक्त राष्ट्रसंघको महासभाको दौरानमा नेपालले उक्त मुद्दामाथि कुरा उठाएको थियो ।