बुटवल,१२ बैशाख ।
बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । नगर प्रमुख खेलराज पाण्डेयले कार्यालयमा सेवा लिन आउने विभिन्न भाषा भाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेवारी भाषामा बडापत्र सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले जनसंख्याको आधारमा चार भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताउनुभयो । उहाँले स्थानीयस्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने बताउनुभयो ।राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ । कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले चार भाषामा बडापत्र तयार गरिएको बताउनुभयो ।
उहाँले बुटवलले आगामी दिनमा अरु भाषामा बडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताउनुभयो ।
