२१ चैत, पोखरा ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अब जसले सक्छ उसले सरकार बनाउने प्रतिक्रिया दिनुभएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएर निस्किएपछि पाण्डेले संसदमा विश्वासको मत पाउने स्थिति नभएकाले आफूले राजीनामाको बाटो रोजेको खुलाउनुभयो ।
६० सदस्यीय प्रदेशसभामा एमालेमा(माओवादीलाई बहुमत पुर्याउन निर्णायक रहेको राप्रपाले तत्काल सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएकाले पाण्डे राजीनामा दिएर फेरि मुख्यमन्त्री हुने रणनीतिकै साथ अगाडि बढनुभएको होे ।
राप्रपा अनिर्णित बन्दा एमाले २२ र माओवादी ८ गठबन्धनलाई बहुमत नपुगोस् भन्ने कारणले नै स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ दीपक मनाङे लाई पाण्डेले मन्त्री बनाउनुभएको थियो ।
आफूले राजीनामा दिएपछि संविधानको धारा १६८ ९२० बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान हुने र त्यसमा पनि बहुमत पुर्याउन कसरत गर्ने पाण्डेले बताउनुभयो ।
‘संविधानको धारा १६८ को २ बमोजिम सरकार बनाउन आह्वान हुन्छ भन्ने लाग्छ । मैले पनि दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सकें भने म यही प्रक्रियाबाट पनि मुख्यमन्त्री बन्छु, मैले सकिनँ र अरु दलले पुर्याउनुभयो भने उहाँहरु बन्नुहुन्छ । यो प्रक्रिया सकेपछिमात्रै ठूलो दलको बुँदामा प्रवेश हुन्छ’, उहाले भन्नुभयो ।
अब प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ दिनको समय दिएर दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्ने र कसैले पनि दाबी पुर्याउन नसकेपछि धारा १६८ ९३० अनुसार आफू ठूलो दलको संसदीय दलको नेताका रुपमा मुख्यमन्त्री बन्ने पाण्डेले बताउनुभयो ।
प्रदेश प्रमुखले गठबन्धनको पक्षमा निर्णय गर्न सक्ने संशयकै बीच पाण्डेले अहिलेसम्मको अभ्यास हेर्न आग्रह गरेको सुनाउनुभयो । अहिलेसम्म ७ दिनभन्दा लामो समय दिएर सरकार गठनको आह्वान गर्ने अभ्यास नदेखिएकाले त्यही सुझाव दिएको उहाको भनाइ थियो ।
राप्रपाले २७ गतेपछि निर्णय गरेछ भने त्यसपछि स्वभाविक हिसाबले त्यसमा आफ्नो पनि दाबी रहने पाण्डेको भनाइ थियो ।
‘गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएर नीति तथा कार्यक्रम र बजेट ल्याएका पाण्डेले एक वर्ष नपुग्दै राजीनामा दिनुभएको छ ।

