दाङ,चैत्र १२
दाङमा क्षयरोगका नयाँ संक्रमित भेटिने क्रम नरोकिएको र उल्लेख्य संख्यामा मृत्यु दर रहेको सरकारी तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष ०७४÷७५ देखि ०८०÷८१ हालसम्मको क्षयरोग संक्रमणको दर हेर्दा घटेको देखिदैन । आर्थिक वर्ष ०७४÷७५ मा दाङमा नौ सय ४४ जना नयाँ बिरामी फेला परेका थिए । आर्थिक वर्ष ०७५÷७६ मा जिल्लामा नयाँ बिरामी आठ सय २८ जना,२०७६÷७७ मा बढेर नयाँ संक्रमित नौ सय १५,०७७÷७८ मा नौ सय दुई र ७८÷७९ मा एक हजार चार सय ५३ जना नयाँ क्षयरोगका विरामी फेला परेका थिए ।
गत आर्थिक वर्ष २०७९÷०८० मा पनि एक हजार दुई सय ९३ क्षयरोगका विरामी फेला परेका थिए । त्यही अनुपातमा यस वर्ष पनि नयाँ बिरामी भेटिएको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको तथ्यांकले देखाएको छ । २०८० साउनदेखि फागुनसम्म सात सय ४७ जना नयाँ क्षयरोगका विरामी फेला परिसकेका छन् ।
दाङ जिल्लामा ५० डट्स केन्द्र, २० माइक्रोस्कोपी केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जीन एक्सपर्ट केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डिआर केन्द्र, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डिआर सवकेन्द्र रहेका छन् । यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा मात्रै जीन एक्सपर्ट केन्द्र रहेकोमा प्रादेशिक अस्पताल तुलसीपुरमासमेत जीन एक्सपर्ट केन्द्र स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बरबहादुर कुँवरले बताउनुभयो ।
क्षयरोगको लक्षण भएका तर माइक्रोस्कोपी केन्द्रमा नदेखिएको, क्षयरोगीले सेवन गर्ने रिफाम्पिसिन नामक औषधिले काम गरे नगरेको अवस्थाको जाँच जीन एक्सपर्ट केन्द्रमा हुन्छ ।
नयाँ संक्रमणको हिसावले लुम्बिनी प्रदेशमा दाङ दोस्रो धेरै क्षयरोगका विरामी रहेको जिल्ला हो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको तथ्यांक हेर्दा जिल्लामा सात सय ४७ जना नयाँ क्षयरोगका बिरामी फेला परिसकेका छन् । जसमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा चार सय ३६, तुलसीपुर उपमहानगरपालिकामा तीन सय ६७, बंगलाचुली गाउँपालिकामा ५९, शान्तिनगर गाउँपालिकामा ५६, बबई गाउँपालिकामा ६०, दंगीशरणमा ५४, लमही नगरपालिकामा ७५, राप्ती गाउँपालिकामा ९६, गढवामा ५७ र राजपुरमा ३३ जनामा क्षयरोग किटान भएको छ ।
जिल्लामा क्षयरोग निको हुने दर ९६ प्रतिशत छ भने रोगका कारण मृत्यु हुने जिल्लामा एक दशमलव तीन प्रतिशत छन् । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै दाङमा क्षयरोगबाट २० जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । गत आर्थिक वर्षमा १७ जनाको क्षयरोगबाट ज्यान गएको थियो भने आर्थिक वर्ष २०७८÷०७९ मा ३६ जनाको क्षयरोगबाट मृत्यु भएको कार्यालयले जानकारी दिएको छ ।
नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सन् १९९६ देखि डट्स ९प्रत्यक्ष निगरानीमा औषधि खुवाइने० विधिद्वारा क्षयरोगका बिरामीलाई उपचार गर्ने पद्धति शुरु गरेको हो । क्षयरोग शुरूकै अवस्थामा पत्ता लगाउन नसकिएको र रोगले ग्रस्त बनाएपछि स्वास्थ्य संस्था आउने प्रचलनले मृत्युदर बढेको स्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग उन्मूलन र २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने लक्ष्य लिए पनि अझै क्षयरोगका नयाँ विरामी थपिने क्रम भने रोकिएको छैन ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार विगतका वर्षमा २० देखि ३० हजारसम्म नयाँ क्षयरोगी थपिने गरेकामा पछिल्लो एक वर्षमा नेपालमा ३७ हजारभन्दा बढी बिरामी थपिएका छन् । नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको बताइएको छ । नेपालमा क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोगी छन् भने बाँकी २८ प्रतिशत विभिन्न अंगका क्षयरोगी छन् ।
दाङमा भने ७७ प्रतिशत फोक्सोको क्षयरोगी रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । अहिले उपचारमा रहेका बिरामीमध्ये ६८ प्रतिशत बिरामी मधेश, बागमती र लुम्बिनी प्रदेशका रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । केन्द्रका अनुसार नेपालभरमा सबैभन्दा धेरै बिरामी मधेश प्रदेशमा र त्यसपछि बागमतीमा र लुम्बिनी प्रदेशका छन् । लुम्बिनी प्रदेशमा पनि दाङ धेरै विरामी हुनेमा दोस्रो छ ।

