६ फागुन माघ, काठमाडौं ।
बालकुमारी घटनामा दोषि ठहर भएको सिफारीसमा परेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले राजीनामा मागेका छन् ।
विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गर्नुभएको हो ।
गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको थियो । उक्त घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उहाले बर्खास्तीको माग गर्नभएको हो । ‘आयोगले मन्त्री ज्वाला दोषि भनि सकेकाले बर्खास्तको माग गरिएको बर्तौलाले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा माग गर्नुभयो ।
‘छताछुल्ल प्रमाण भएको व्यक्ति कारबाहीमा नपरेको’ भन्दै उहाले सरकारको नियतमाथि नै शंका लागेको पनि बताउनुभयो ।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद दिपकबहादुर सिंहले पनि मन्त्री ज्वालालाई हटाउन माग गर्नुभयो ।
‘छानबिन आयोगले मन्त्री ज्वाला दोषी ठहर गरिसकेको छ । उनलाई मन्त्रीबाट हटाउन राप्रपा माग गर्दछ,’ उहाले भन्नुभयो ।
रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले मन्त्री प्रकाश ज्वाला चढेको गाडी समेत जलाइदिएका थिए । प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको थियो ।
उक्त घटनाबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वमा छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगले परिस्थितिको आकलन नगरी र आफ्नै पीएसओको अनुरोधलाई बेवास्ता गर्दै मन्त्री ज्वाला झन्डा हल्लाउँदै घटनास्थल पुगेर परिस्थितिलाई भड्काएको ठहर गरेको छ ।
प्रदर्शनमा मन्त्री ज्वाला नगएको भए अवस्था गम्भीर नबन्न सक्ने छानबिन समितिको निष्कर्षलाई आधार मानेर विपक्षी दलहरुले मन्त्री ज्वालाको नैतिकताको आधारमा राजीनामा माग गरेका हुन् । आफैंले राजीनामा नदिए मन्त्री ज्वालालाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्नेमा उहाहरुको जोड रहेको छ ।

