ब्रेकिङ न्युज
Sat. Apr 18th, 2026

४ फागुन, काठमाडौं ।

सनातन हिन्दू राष्ट्रको एजेण्डालाई महासमिति बैठकमा छलफल गराइनुपर्ने माग राखेर नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले पूरक प्रस्ताव ल्याएका छन् । शुक्रबार केन्द्रीय मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकमा शंकर भण्डारीले २२ केन्द्रीय सदस्यको हस्ताक्षरसहित पूरक प्रस्ताव राखेका हुन् ।

‘सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक रहेका केन्द्रीय सदस्य भण्डारीले आफ्नो कुरा समेत राखेर सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव बुझाउनुभएको छ । त्यसक्रममा उहाले पार्टीको ठूलो हिस्साले उठाउँदै आएको आवाजबारे पार्टी चुप लागेर बस्न नमिल्ने बताउनुभएको थियो ।
तर सभापति देउवाले कुनै जवाफ नदिई प्रस्तावपत्र बुझनुभयो । ‘सभापतिले केही बोल्नु भएन । तर शंकर भण्डारीले आफ्नो तर्फबाट कुरा राख्नुभएको छ’, केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिनुभयो ।
भुसालका अनुसार, उक्त प्रस्ताव पत्रमा हस्ताक्षर गर्ने मध्ये केहीले नागरिक तहसम्मै पुगेको यो एजेण्डाप्रति पार्टीले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने तर्क गर्नुभएको थियो ।
कांग्रेसको औपचारिक बैठकमा यति ठूलो संख्याका नेताहरुले धर्म निरपेक्षता खारेज हुनुपर्ने माग राखेको यो पहिलोपटक हो । ‘यसअघि खुमबहादुर खड्काले केन्द्रीय समिति बैठककै माइन्यूटमा आफ्नो राय लेख्नुभएको थियो’ भुसाल स्मरण गराउदै भन्नुभयो, ‘यसपटक हामीले बुझाएका छौं ।’

महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सनातन हिन्दूराष्ट्रको एजेण्डा समावेश नभएकाले छुट्टै प्रस्ताव ल्याउनुपरेको तर्क प्रस्तावमा उल्लेख गरिएको छ ।
तपशीलका केन्द्रीय कार्य समितिका सदस्यहरुले महासमितिको बैठकबाट छलफल गरेर सनातन हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेस दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पूरक प्रस्तावको रुपमा वैदिक सनातन हिन्दू धर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं’, प्रस्ताव पत्रमा भनिएको छ ।

प्रस्तावपत्रमा हस्ताक्षर गरेका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही, धर्म सापेक्ष राष्ट्रका विशेष प्रस्ताव लगिएको बताउँनुभयो । ‘धर्म सापेक्ष राष्ट्रका लागि यो प्रस्ताव ल्याएका हौं, अरु धेरै कुरा भनिरहनु परेन’, उहाले भन्नुभयो।
हिन्दू राष्ट्रको वकालत गर्ने कांग्रेस नेताहरुले पार्टी बाहिर पनि गतिविधि बढाएका छन् । आज (फागुन ५ गते) नयाँ बानेश्वरस्थित बानेश्वर बैंकेटबाट घोषणापत्र नै सार्वजनिक गर्ने तयारी छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *