दाङ,१६ माघ
तुलसीपुरमा सञ्चालन भइरहेको महायज्ञको चौथो दिन २५ लाख बढि आर्थिक संकलन भएको छ । महायज्ञको चौथो दिन मंगलबार विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी २५ लाख २२ हजार ९ सय ९९ रुपैयाँ प्राप्त भएको छ । मानव सेवा आश्रमको भवन निर्माणार्थ महायज्ञमा विदेशबाट समेत आर्थिक सहयोग जुटेको छ । चौथो दिनमा सबैभन्दा बढि हमाल परिवारले महायज्ञमा दान गरेका छन् । तुलसीपुरका प्रतिष्ठित व्यवसायी तथा नेपाली काँग्रेसका नगर सभापति सुरेश हमालको परिवारले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन् । तुलसीपुर उपमहानगरपालिका ५ निवासी हाल अमेरिका बस्दै आएका रविन्द्रकुमार धिताल र अर्चना धितालले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । तुलसीपुरका रञ्जन गौतमको परिवारले ५६ हजार ६ सय ५६ रुपैयाँ प्रदान गरेका छन् । बिजौरी बस्ने मोहन घर्तीपरिवारले ५१ हजार १सय ११ रुपैयाँ, राप्ती यातायात सेवा प्रालिले ५५ हजार ५ सय ५५ रुपैयाँ महायज्ञमा दान गरेको छ । आर्थिक सहयोग गर्नेमा टोल विकास संस्था, महिला समुह, वन उपभोक्ता समुह, सहकारी संस्था लगायतका संस्थाहरु रहेका छन् महायज्ञको तेस्रो दिन भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो । पण्डालभित्र भक्तजनहरुको भिड रहेको थियो भने खुला चउरमा बसेर कथा र भजनमा रमाउनेहरुको सँखया पनि उत्तिकै रहेको थियो । कथा वाचक भास्कर कोमलनयन गौतमले महाभारत र शिवपार्वतीको कथा वाचन गरेका थिए । कथा वाचन प्रत्येक दिन बिहान ११ देखि अपरान्ह् ४ बजेसम्म हुने गरेको छ ।
