मंसिर ३ गते
बंगलादेशमा हिंसा भडकिएको छ । अवामी लिगको लकडाउनअघि र पछि ढाकासहित देशभर हिंसा बढेको हो । शेख हसिनाले डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि देशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन् । विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ ।
त्यहाका २८ जिल्लामा बम विस्फोट, आगजनी र झडप हुँदा ढाकामा कम्तीमा चार जना घाइते भएका छन् । नराइल, फरीदपुर र पिरोजपुरमा केहीको मृत्यु भएको खवर प्राप्त भएको छ।
सरकारले सुरक्षा कडा पार्दै ढाकाबाट पछिल्लो २४ घण्टामा ५६५ जनालाई पक्राउ गरेको छ, जसमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद पनि छन्।
पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ ।
त्यस्तै, चटगाउँको मोहम्मद युनुसको पैतृक घरमा पनि अज्ञात समूहले आगजनी गरेको छ ।
ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ ।
स्वदेश फर्किने शेख हसिनाको घोषणापछि तनाव
अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आउनुभएको छ ।
यसै महिनाको सुरुवातमा उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गर्नुभएको थियो । त्यसयता देशमा राजनीतिक तनाव बढ्दै गएको छ ।
मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं मानिसले प्रहरी चौकी घेराउ गरेका थिए । प्रदर्शनकारीको घेराउपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो ।
बुधबार राति प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।
मंगलबार राति संसदमा सम्बोधन गर्दै उहाले सन् २०२४ को आन्दोलनको भावनासहित फेरि एकजुट भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताउनुभएको थियो । द डेली स्टारका अनुसार रहमानले सरकारी संयन्त्रमा मात्र निर्भर नभई सांसदहरूलाई सडकमा समेत सक्रिय हुन आग्रह गर्नुभउको छ ।

