घोराही माघ १५

अहिले दाङमा ३६ जना कुष्ठरोगका बिरामीले उपचार गराइरहेका छन् । सरकारी तथ्यांक अनुसार जिल्लाका छवटा स्थानीय तहमा कुष्ठरोगका बिरामी देखा परेका छन् ।
२०६६ साल माघ ५ गते सरकारले कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । दाङमा २०६६ सालदेखि हालसम्म पनि वार्षिक २० देखि ३० जना कुष्ठरोगका नयाँ बिरामी देखा पर्ने गरेको स्वास्थ्य कार्यालय दाङका क्षय, कुष्ठ अधिकृत तथा निमित्त प्रमुख डम्बरबहादुर कुँवर बताउनुभयो ।
दाङ जिल्लामा अहिले पनि ३६ जना कुष्ठरोगीको उपचार भइरहेको अवस्था छ । आर्थिक वर्ष २०७९÷०८० मा मात्रै दाङका छवटा पालिकामा २६ जना कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय दाङको रेकर्डमा छ । सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा १२ जना, गढवा गाउँपालिकामा छ जना, दंगीशरणमा तीनजना, लमही र राप्ती गाउँपालिकामा दुई÷दुईजना कुष्ठरोगी रहेका छन् भने तुलसीपुर उपमहानगरपालिकामा एकजना कुष्ठरोगी फेला परेका छन् । दाङमा प्रति १० हजार जनसंख्यामा वर्षको अन्तमा उपचारमा रहेका बिरामीको प्रकोप दर ० दशमलव ५ छ भने नयाँ बिरामीको दर एक लाखमा तीन दशमलव ८ रहेको छ । गत वर्ष दाङमा प्रति १० हजार जनसङ्ख्यामा वर्षको अन्तमा उपचारमा रहेका बिरामीको प्रकोप दर ० दशमलव ३१ र नयाँ बिरामीको दर एक लाखमा तीन दशमलव २५ रहेको थियो ।

वर्षेनि बढ्दै रोगी

दाङमा कुष्ठरोगी फेला पर्ने क्रम वर्षेनि बढेको रेकर्ड छ । आर्थिक वर्ष २०७७÷०७८ मा १७ जना विरामी फेला परेकोमा आर्थिक वर्ष २०७८÷०७९ मा त्यो संख्या बढेर २२ पुगेको छ । गत आर्थिक वर्षमा २६ जना नयाँमा कुष्ठरोग भएको प्रमाणित भयो । चालु आर्थिक वर्षको हालसम्म १० जना नयाँ बिरामी फेला परेको सरकारी रेकर्डमा छ ।
वर्षेनि बिरामी बढ्दै जाँदा समेत रोगसँग सम्बन्धित कार्यक्रम भने घट्दै गएको पाइन्छ ।
धेरै विरामी हुनेमा लुम्बिनी दोस्रो
गतवर्ष कुष्ठरोगका नयाँ बिरामी कर्णाली प्रदेशमा सबैभन्दा कम फेला परेका छन् । सो प्रदेशमा ७३ जनामा मात्रै कुष्ठरोग पुष्टि भएको सरकारी रेकर्ड छ । देशभर फेला परेका कुष्ठरोगका नयाँ बिरामी २५ सय २२ मध्ये कर्णालीमा सबैभन्दा कम अर्थात् तीन प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा बढी अर्थात् नौ सय ४४ जना अर्थात ३७ प्रतिशत छन् । लुम्बिनी प्रदेशमा पाँच सय ६५ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जो देशभरका नयाँ रोगीको २२ प्रतिशत हो । कोशी प्रदेशमा चार सय ७१ जना अर्थात् १९ प्रतिशत, नयाँ कुष्ठरोगीमध्ये बागमती र गण्डकी प्रदेशमा पाँच÷पाँच प्रतिशत छन् । बागमती प्रदेशमा एक सय २० जना र गण्डकी प्रदेशमा एक सय १९ जना नयाँ रोगी फेला परेका छन् भने सुदूरपश्चिम प्रदेशमा नौ प्रतिशत अर्थात दुई सय ३० जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

देशैभर बढे विरामी

नेपालमा पछिल्लो तीन वर्ष यता कुष्ठरोगका बिरामी बढेका छन् । महाशाखाका अनुसार गत वर्ष दुई हजार पाँच सय २२ जनामा कुष्ठरोग पुष्टि भएको छ । अघिल्लो वर्ष अर्थात् सन् २०२१÷२०२२ मा दुई हजार दुई सय ८५ जनामा कुष्ठरोग देखिएको थियो । यस्तै, वर्ष २०२०÷२०२१ मा दुई हजार एक सय ७३ जनामा कुष्ठरोग पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कमा उल्लेख छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइक्रो व्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *