जेष्ठ १
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विपक्षी दलहरूको अवरोध र बहिष्कारबीच प्रतिनिधिसभाबाट पारित भएको छ।
प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारबीच सरकारको नीति तथा कार्यक्रम बिहीबार पारित भएको छ । संसद् बैठकमा उठेका प्रश्नको जवाफ भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनुभएको थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाफ दिन उनलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी तोक्नुभएको थियो ।
सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अर्यालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन ‘रुलिङ’ गर्नुभएन । सभामुख अर्यालले भन्नुभयो, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ३८ देखाएर प्रधानमन्त्री नआए पनि हुने ब्यबस्था छ । गत २१ फागुनको निर्वाचनबाट गठित प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले २०७९ कै नियमावलीबमोजिम कार्यसञ्चालन भइरहेको छ । नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाफ दिन सक्ने व्यवस्था छ ।

