जेष्ठ ७
संवैधानिक परिषद्बाट सिफारिस भएको १२ औं दिन मंगलबार मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको छ । ‘फास्ट ट्र्याक’ को संसदीय सुनुवाइबाट अनुमोदन हुनासाथ नियुक्ति पाउनुभयो र उहाले शपथग्रहण पनि गरिसक्नुभएको छ । ३३ प्रधानन्यायाधीशका रूपमा शर्माले मंगलबार नै जिम्मेवारी पनि सम्हाल्नुभएको छ ।
संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठलाई प्रधानन्यायाधीश बनाउने परम्पराविपरीत चौथो वरीयताका शर्मालाई सिफारिस गरिएपछि अनेक टीकाटिप्पणी भएका थिए । यसबाट न्यायालयमा कार्यपालिकाको छाया हुने आशंकासमेत एकथरीले गरिरहेका छन् ।
राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसद सम्मिलित संसदीय सुनुवाइ समितिले शर्माको सुनुवाइ मंगलबार द्रुत गतिमा गरेको थियो । बिहान ८ बजे उजुरी खोलेर सुनुवाइ सुरु गरेको समितिले अपराह्न करिब ४ बजे शर्माको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो । त्यसलगत्तै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति पाएका थिए । शपथ लिएर उहा ६ बजे सर्वोच्च अदालत पुग्नुभएको थियो ।
न्यायालयको नेतृत्व सम्हालेपछि शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो ।
शर्मा असार २०८९ सम्म न्यायालयको नेतृत्वमा रहनुहुने छ । २०४६ सालको राजनीतिक परिवर्तनयता ६५ वर्षे उमेरहदका कारण कोही पनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गरेका थिएनन् । शर्मा भने अवकाशमा जाँदा पनि ६२ वर्षका मात्र हुनेछ ।

