पौष २८
शान्ति तथा सामाजिक सद्भाव दाङमा जिल्ला समिति गठन गरिएको छ । जिल्लामा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्ति प्रवद्र्धन गर्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, जिल्लास्थित राजनीतिक दलका अध्यक्ष वा प्रतिनिधि, नागरिक समाज दाङका अध्यक्ष वा प्रतिनिधि, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष, पत्रकार महासंघका जिल्ला अध्यक्ष, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुखले तोकेको प्रतिनिधि, विश्व हिन्दु महासंघ दाङका अध्यक्ष वा प्रतिनिधि, दमारगाउँ चर्चका अध्यक्ष वा प्रतिनिधि, नेपाल मुस्लिम सेवा समाज दाङका अध्यक्ष वा प्रतिनिधि, नमछु बौद्ध गुम्बाका अध्यक्ष वा प्रतिनिधि, नेपाल मगर संघका अध्यक्ष वा प्रतिनिधि, थारु कल्याणकारिणीसभा दाङका अध्यक्ष वा प्रतिनिधि, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष वा प्रतिनिधि, प्याब्सन दाङका अध्यक्ष वा प्रतिनिधि तथा एन–प्याब्सन दाङका अध्यक्ष वा प्रतिनिधिलाई सदस्य तोक्ने निर्णय गरेको छ ।
स्थानीय तह, स्थानीय अगुवा, सामाजिक संघसंस्था, विद्यालय, महिला समूह, युवा क्लब, सहकारी संस्थालगायतले विवादको पूर्वरोकथाम गर्न, समुदायहरूबीच सेतुको काम गर्न र सामाजिक सद्भाव कायम राख्न संवेदनशील भई क्रियाशील हुने बैठकले निर्णय गरिएको छ । सञ्चार क्षेत्रले जनचेतना फैलाउने, सत्य, तथ्यपरक र सन्तुलित समाचार प्रकाशन गर्ने तथा सद्भाव र सहिष्णुताको सन्देश प्रवाह गर्ने निर्णय गरेको छ ।
सबै स्थानीय तहले आ–आफ्नो कार्यक्षेत्रभित्र सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न स्थानीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी जिल्ला समितिलाई जानकारी गराउने तथा दैनिक पूजा–पाठ, सत्संग र प्रवचनका कार्यक्रमहरू गर्दा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता प्रवद्र्धन हुने गरी व्यवस्थापन गर्न धार्मिक तथा जातीय अगुवा र संघसंस्थालाई अनुरोध गर्ने निर्णय भएको प्रशासकीय अधिकृत विजय गौतमले जानकारी दिनुभयो ।

