१३ पुस, काठमाडौं । 

दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छ्न । 

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले अनलाइनखबरसँग बताए 

यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।

पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत गएका थिए ।

उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *