पसिना, श्रम, मेहनत जल्यो: पुर्ब मुख्यमन्त्री डिल्ली बहादुर चौधरी

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सम्पूर्ण व्यक्तिहरूलाई हार्दिक श्रद्धाञ्जली र घाइतेहरूका लागि शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु।

देश संकटमा छ। देश जलेको बेला, देश रोएको बेला, विक्षिप्त भएको मेरो मनले केही निजी कुरा राख्दैछु।

जेनजी पुस्ताको आन्दोलन पक्कै पनि केवल हिंसात्मक, उदण्ड र व्यक्ति केन्द्रीत मात्र थिएन होला। तर आन्दोलनको नाममा घुसपैठ गरेर सरकारी संरचना, व्यक्तिका निजी, सार्वजनिक सम्पत्ति, कार्यालयहरू लुटपाट गर्ने, आगजनी गर्ने वा चोरी–डकैती गर्ने उद्देश्य भएको कुरा स्वीकार्य हुन्छ भन्ने म विश्वास गर्दिनँ। वर्तमान आन्दोलन भनेका केहि बेथिति र विसंगतिका विरुद्ध उठेका आवाजजस्तो लाग्छ। आन्दोलनको बहानामा राजनीतिक प्रतिशोध लिनु, व्यक्तिगत रिस र द्वेषले कसैलाइ दुख दिने/संपत्ति नस्ट गर्नु आन्दोलनको मर्म होइन। यस्तो गर्नेलाई कानुनी कार्वाही हुनै पर्छ । 

हो, म राजनैतिक पात्र हु नेतृत्वमा छु — राजनीतिक र सामाजिक भूमिका बोकेको व्यक्ति हुँ। मेरो घर जलाउनुको कारण मेरो नेतृत्वमा पुग्नु हो कि समाज रुपान्तरणका लागि गरिएको योग्दान , अभियान सफल भएको कारण हो? जब मेरो सम्पत्ति आगजनी गरेर,  लुटियो, मेरो पसिना, श्रम र भविश्य खरानी भयो, त्यसको कारण म आफूले बुझ्न पाउनु पर्दैन र?

मेरो घर मात्र जलेको छैन — मेरो पसिना, चार दशकको श्रम, मेहनत  जलेका छन्। पुर्ख्यौली सम्पत्तिमा रहेको छानोविहीन घरलाई सानै उमेरदेखि रोल्पा र रुकुम पुगेर, मासिक ३०० रुपैयाँको जागिरको तलबबाट अहिले यहाँ  सम्म आएर कमाएर मैले छानो बनाएको हुँ; त्यो मेरो परिवारको सपना थियो।  देश–विदेशमा रहेका विश्वविद्यालहरूमा पढाएर र बचत गरेर जम्मा गरेको एक–एक पैसा हो। यो सम्पत्ति राजनीतिक प्रतिशोधले जलाइएको छ ।  मैले कुनै अनियमितताबाट कमाएको होइन — यो मेरो पसिनाको कमाइ हो। यसरी जोडेको निजी सम्पत्ति खरानी बनाउनु के न्यायोचित हो?

चुनौतीमै बाँचेको जीवन हो — म कमजोर छैन। सानै उमेरदेखि संघर्षसँग जुधेर म सबल बनेको हुँ। म आत्तिएको छैन। जुरुक्क उठ्ने आँट, विश्वास, लगनशीलता, साहस र धैर्य अझै मसँगै छन्। सङ्घर्ष गर्दै बाँचेको जीवन हो — अझै संघर्ष गरिरहनेछु।

पञ्चायत कालमा रोल्पा–रुकुममा जागिर गर्दा पनि धेरै पीडा भोगिएको हो। माओवादी सशस्त्र द्वन्दका समयमा म माथि हानिएका गोलीहरूले मेरो जीवन जोगाएका थिए । त्यसैगरी मुक्तकमैया अभियानमा नेतृत्व गर्दा राज्यले गोली प्रहार गर्‍यो, तर म नडराई अगाडि बढेँ र समुदायका लागि जीत निकालें । त्यो समयको मृत्युको खतरा पनि टरेको थियो। अहिले त केवल घर जलेको छ । मन जलेको छैन; आँट, साहस र क्षमता अझै बाँकी छ। म छिट्टै उठेर फेरि अघि बढ्नेछु । एक–एक थोपा जम्मा गरेर बनाएको पारिवारिक संरचना पुनर्स्थापित हुनेछ।

घरमा राजनीतिक प्रतिशोध गरिएको छ। राजनीतिक प्रतिशोध तथा भित्री–बाहिरी खराब तत्वहरूले मेरो जीवनभरको कमाइलाई खरानी बनाएका छन्। त्यो घर मेरो मात्र होइन — मेरो आमा, श्रीमती, छोरी र छोराको सपना थियो। जेनजी आन्दोलनको नाममा स्पष्ट रूपमा राजनीतिक प्रतिशोध देखाइएको  छ । हाम्रो घरले आन्दोलनको विरोध गरेको थिएन र न अवरोध गरेको थियो। घरमा लुटपाट र चोरी भयो; परिवारले जम्मा गरेको केही गरगहनाहरू, रकम र अन्य सामानहरू समेत चोरी भए। साथै केही मिथ्या र गलत प्रचार पनि गरिएको छ। यस्तो कुकृत्य गर्नेहरूलाई उचित कानूनी कारबाही हुनुपर्न्‍छ।

अन्त्यमा, जीवनभर मेरो ध्यान सामाजिक विकास, समाजको उत्थान, राजनीति, समाजसेवा, विकास र जनता केन्द्रित नै रहनेछ। म आम नागरिक, थारु समुदाय, विपन्न, गरीब र पछाडि परेका समुदायहरूको अधिकार स्थापना, आर्थिक विकास, शिक्षा र सामाजिक उत्थानमा सधैं प्रतिबद्ध छु , रहने छु।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *