जेठ १८
प्रधानमन्त्री वालेन्द्र शाहले हिजोको संसद बैठकमा नेपालले पनि भारतीय जमिन मिचेको अभिव्यक्ति दिएपछि यसको चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीजस्तो गरिमामय र जिम्मेवार पदमा बसेको व्यक्तिले संसद्को रोस्टमबाटै ‘नेपालले पनि अरूको सीमा मिचेको छ’ भन्नु अत्यन्तै गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति भएको राजनीतिज्ञ र कुटनीतिज्ञहरुको भनाइ छ ।
उनीहरुले प्रधानमन्त्री जस्तो व्यक्तिले आफ्नो देशको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने ठाउँमा उल्टै आफ्नै देशलाई दोषी देखाउनुले राष्ट्रिय हितमाथि गम्भीर आघात पुर्याएको टिप्पणी गरेका छन् । हिजोको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको जानकारी आफूलाई आएको बताएका थिए ।
तर यो अभिव्यक्ति गलत भन्दै सीमाविदहरुले खेद व्यक्त गरेका छन् । सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डा. पीताम्बर शर्मा, प्राध्यापक डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, सीमाविद् प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुंगेलले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको भनाइले आफूहरुलाई आश्चर्यमा पारेको बताउनुभएको छ ।
यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित रहेको भन्दै प्रष्टीकरण दिएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् ‘सीमा वारपारको जग्गा भोगाधिकार’ सँग सम्बन्धित रहेको बताएको हो ।
नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गरेको कारणले ‘क्रस बोर्डर अकुपेसन’ भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । दुवै देशले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका पनि परराष्ट्रले स्मरण गराएको छ ।

