जेठ १५ गते
आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । पहिलो संविधानसभाको २०६५ जेठ १५ गतेको बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सैनिक मञ्च टुँडीखेलमा आज बिहान विशेष समारोह आयोजना हुँदैछ । त्यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ ।
सैनिक मञ्च बिहान ८ बजेदेखि सुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नु हुनेछ ।
प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
परम्परानुसार टुँडीखेलमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ । गणतन्त्रकी प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर पत्र शीतल निवासमा पत्र पठाएको थियो ।
वि.सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । वि।सं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।
संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।
संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो महिला राष्ट्राध्यक्ष बन्नुभयो । हाल तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल हुनुहुन्छ । त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख ब्यबस्था थियो।

