२५ जेष्ठ
सरकारले वैदेशिक रोजगारीबाट जहाज र स्थलमार्ग हुँदै फर्किने नेपालीका लागि झिटीगुन्टा नियममा कानुनी रूपमै विभेदपूर्ण व्यवस्था गरेको छ ।
हवाई मार्गबाट फर्कने कामदारले सुन, मोबाइल, ल्यापटप र ६५ इन्चसम्मको टेलिभिजन महसुल छुटमा ल्याउन पाउने व्यवस्था गरिएको छ ।
स्थलमार्गबाट स्वदेश फर्कने नागरिकका हकमा भने जम्मा ५ सय रुपैयाँ मूल्य बराबरको सामान ल्याउँदा मात्र महसुल छुट पाउने व्यवस्था छ ।
अर्थ मन्त्रालयले हरेक वर्ष बजेट लगत्तै भन्सार ऐनलाई उदृत गर्दै नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुलाई आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुका सम्बन्धमा सूचना प्रकाशित गर्छ । चलनचल्तीको भाषामा त्यसलाई झिटीगुन्टा सम्बन्धी नियम भन्ने गरिन्छ ।
सो ऐनको प्रावधान अनुसार जहाज चढेर आउने नेपाली कामदारलाई जुन सुविधा दिइएको छ, त्यो सुविधा भारतमा काम गरेर स्थलमार्गबाट स्वदेश फर्किने नेपाली वा अन्य मुलुकबाट भारत हुँदै स्थलमार्गबाट स्वदेश फर्कने नेपालीले पाउँदैनन् ।
अर्थ मन्त्रालयका अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई जहाजबाट नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा रहेका सामान पूर्ण महसुल छुटमा ल्याउन दिइन्छ ।
जसमा आफूले प्रयोग गरेको लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारिरीक रुपमा अशक्त यात्रुले साहराका रुपमा प्रयोग गरेका वस्तु, भन्सार महसुल ऐन २०८१ को अनूसूची ४ को प्रकरण १ मा तोकिएको परिमाणसम्मको सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना ल्याउँदा महसुल छुट हुने छ ।
त्यसरी आउने महिलाले ५० ग्रामसम्म सुनका गरगहना तथा पुरुषले २५ ग्राम सम्मका सुनका गहना ल्याउन पाउँछन् । हालको मूल्यअनुसार ५० ग्राम सुनको मूल्य करिब १३ लाख रुपैयाँ हुन्छ ।
त्यस्तै, आफूले प्रयोग गरेको ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल एक–एक थान समेत महसुल नतिरी ल्याउन पाइनेछ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई लगातार १२ महिना काम गरी फर्केका नेपाली नागरिकले ल्याएको ६५ इन्चसम्मको टेलिभिजनमा भने महसुल छुट हुने व्यवस्था यसपटक आर्थिक ऐन संशोधनमार्फत गरिएको छ ।
यसअघिको प्रावधानमा भने सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका नागरिकलाई त्यसरी आउँदा जुनसुकै आकार र प्रकारको एक टेलिभिजनमा छुट थियो भने कोषमा सूचिकृत नभएकाको हकमा ३२ इन्चको टेलिभिजन मात्र छुटमा ल्याउन पाइने सुविधा थियो ।
मन्त्रालयका अनुसार यस्तो छुट सुविधा एक पटकका लागि मात्र उपलब्ध हुनेछ । यसबाहेक बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल, पेशागत यात्रुलाई आफ्नो पेशासँग सम्बन्धित वस्तुमा समेत महसुल छुट हुने छ । मदिरा एक लिटरसम्म र सात किलोग्रामसँगको खाद्य परिकारलाई समेट छुटको सूचीमा राखिएको छ ।
विदेशमा बसेका व्यक्तिले नेपालका आफन्त वा परिवारका सदस्यलाई ५ सय डलरसम्मको वस्तु पठाएमा लाग्ने महसुल लिई जाँचपास हुने छ । तर, सो मूल्य भन्दा महँगो वस्तुलाई सस्तो देखाई पठाएको पाइएमा भने सामान जफत, जरिबाना र महसुल तिराउन सक्ने प्रावधान राखिएको छ ।
यो साविकको नियममा समेत यथावत प्रावधान हो । चुरोट दुई सय खिल्लीसम्म वा सिगार ५० खिल्लीसम्म प्रचलित कानुन बमोजिम लाग्ने महसुल लिई जाँचपास गर्न सकिने छ । भारतीय सेना वा प्रहरीबाट निवृत्तिभरण पाउने गरी सेवानिवृत्त भई स्वदेश फर्किएको व्यक्तिले आफ्नो कागजात पेश गरेमा ५० हजारसम्मको निजी प्रयोगका वस्तुमा पूर्ण छुट हुने भएको छ । जुन साविकमा समेत सोही सीमा तोकिएको थियो ।
कुनै नेपाली नागरिकको विदेश बसाईमा मृत्यु भएको प्रमाणित भएमा निज र परिवारको निजी प्रयोगका पुराना सबै किसिमका वस्तु स्वदेश फिर्ता ल्याउँदा महसुल छुट हुनेछ । सो सूचीमा सवारी साधन, हातहतियार र खरखजाना भने पर्दैनन् ।
तर, यो सबै सुविधा स्थलगत सीमा नाकाबाट आउनेको हकमा लागु नहुने सूचनामै उल्लेख छ । स्थलमार्गबाट आउने यात्रुका हकमा भने ५ सय रुपैयाँ सम्मका सामान ल्याउँदा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ भन्ने व्यवस्था छ । त्यसबाहेक भारतमा पढ्ने विद्यार्थीले एउटासम्म ल्यापटप, कम्युटर वा ट्याबलेट ल्याउन पाउने व्यवस्था पनि यसपटक गरिएको छ ।

