भदौ १८ गते

सबैभन्दा बढी साक्षरता दर बागमती प्रदेशमा ८२ प्रतिशत रहेको छ । सबैभन्दा कम मधेश प्रदेशमा देखिएको छ । शिक्षा तथा मानव स्रोत विकासक केन्द्रका अनुसार मधेश प्रदेशमा साक्षरता दर ६३.५ प्रतिशत रहेको देखाएको हो ।
कोशी ७९.७ प्रतिशत, गण्डकीमा ८१.७ प्रतिशत, लुम्बिनीमा ७८.१ प्रतिशत, कर्णाली ७६.१ प्रतिशत र सुदूरपश्चिममा ७६.२ प्रतिशत साक्षरता दर रहेको छ ।
‘चेतनाको स्तर र अशिक्षित भएर साक्षारता दर कम देखिएको हो । सबै निरक्षर भने छैनन् । साक्षरता बढाउन कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ केन्द्रका निर्देशक दिनेश घिमिरेले बताउनुभयो ।
केन्द्रका अनुसार हालसम्म ६७ वटा जिल्ला साक्षर घोषणा भएको छ । १० जिल्लाको घोषणा गर्न बाँकी छ । सप्तरी, सिरहा‚ धनुषा, महोत्तरी‚ सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा, कालीकोट र डोल्पालाई साक्षर घोषणा गर्न बाँकी रहेको निर्देशक घिमिरेले बताए । उनका अनुसार बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश साक्षर घोषणा भएका छन् । लुम्बिनी, मधेश र कर्णाली प्रदेश बाँकी छ ।
‘कालिकोट र लुम्बिनी प्रदेश साक्षर घोषणाको तयारीमा रहेको छ । साक्षरता दिवस अगाडि नै घोषणा गर्ने योजना छ,’ निर्देशक घिमिरेले भन्नुभयो ।
केन्द्रका अनुसार १३१ वटा स्थानीय तह साक्षर घोषणा भएका छैनन् । १५ देखि ६० वर्षसम्म साक्षरता ८५ प्रतिशत छ । ५ वर्षमाथिको जनसंख्या २ करोड ६७ लाख २५ हजार २९५ रहेको छ । जसमा लेख्न(पढ्न सक्नेको जनसंख्या २ करोड ३ लाख ७७ हजार ९८० रहेको केन्द्रले जनाएको छ ।
विद्यालय तहमा हाल ७० लाख ७० लाख १० हजार ८०८ विद्यार्थी छन् । सामुदायिक, संस्थागत र परम्परागत गरी ३५ हजार ४४७ वटा विद्यालय छन् । जसमा सामुदायिक २७ हजार २९८, संस्थागत ८१४९, परम्परागत १४२४ रहेको छ । सामुदायिक सिकाइ केन्द्र २१५१ र खुला शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालय १२१ र अनौपचारिक विद्यालय १७१ वटा छन् ।
के हो साक्षरताको सूचक रु

साक्षरताका १२ वटा सूचक रहेका छन् । जसमा राष्ट्रभाषा वा मातृभाषाका वर्ण,अक्षर पढ्न र लेख्न सक्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न सक्ने,आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने,मोबाइल र क्याल्कुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्ने,० देखि ९ सम्मका अङ्क अक्षर लेख्न सक्ने,१ देखि १०० सम्म गणना गर्न सक्ने,लेनदेनका हरहिसाब राख्न सक्ने,सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझ्न सक्ने,सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने,घडी हेरेर समय बताउन सक्ने,भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने,बैङ्क भौचर भर्न र चेक प्रयोग गर्न सक्ने रहेका छन् । केन्द्रका अनुसार यी १२ वटा सूचीमध्ये ५० प्रतिशत जानेमा साक्षर भएको मानिन्छ ।
यसैबिच , ५९औँ साक्षरता दिवस ‘डिजिटल युगमा साक्षरताको प्रबर्द्धन’ भन्ने नाराका साथ मनाइने भएको छ । दिवस आगामी ८ सेप्टेम्बर (भदौ २३) मा हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार दिवस साताव्यापी मनाइनेछ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *