२१ साउन
नेपाल प्रहरीले ७४ वर्षपछि पहिलो पटक आगामी भदौ ५ र ६ गते महिला प्रहरी सम्मेलन आयोजना गर्न लागेको छ। सम्मेलनमा लैंगिक समानता र न्याय प्रवाहीकरण गर्ने उद्देश्यले सबै महिला प्रहरी युनिटबाट प्रतिनिधित्व गराउने तयारी गरिएको छ। नेपाल प्रहरीमा महिला प्रहरीको सहभागिता १२.४१ प्रतिशत छ र उनीहरू डीआईजीसम्मको दर्जामा कार्यरत छन्।
प्रहरीमा लैंगिक समानता र न्यायलाई मूल प्रवाहीकरण गर्ने लक्ष्यका साथ पहिलो पटक महिला प्रहरी सम्मेलन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीमा महिलाको सहभागिता लामो भए पनि यस प्रकारको सम्मेलन पहिलो पटक हुन लागेको र यसले आगामी दिनमा महिलामैत्री बन्न संगठनले थप गर्नुपर्ने कामहरूबारे समेत निर्देश गर्ने छ ।
नेपाल प्रहरीमा २०७९ मा लैंगिक नीति ल्याइएको थियो । उक्त नीतिलाई थप परिमार्जन गर्दै २५ मंसिर २०८१ मा प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम गर्दै तत्कालीन प्रहरी प्रमुख (आईजीपी) बसन्तबहादुर कुँवरले लैंगिक नीति २०८१ सार्वजनिक गरेका थिए ।
प्रहरी ऐन २०१२ आउनुपूर्वदेखि नै नेपाल प्रहरीमा महिलाको सहभागिता रहे पनि पहिलो पटक आगामी ५ र ६ भदौमा महिला प्रहरी सम्मेलन आयोजना हुन लागेको छ । प्रहरी प्रधान कार्यालयले सम्मेलनको तयारी गरिरहेको छ ।
अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई सम्मेलनको सम्पूर्ण जिम्मेवारी तोकिएको छ । अधिकारीको अध्यक्षतामा ६ सदस्यीय टोली गठन गरेर काम सुरु गरिएको छ ।
नेपाल प्रहरीको औपचारिक इतिहास २०१२ मा प्रहरी ऐन आएपछिलाई मानिन्छ । तर यो ऐन आउनुभन्दा पहिला पनि विभिन्न नाममा प्रहरी संगठन भने थियो । प्रहरी ऐन आउनुभन्दा ४ वर्ष पहिलादेखि नै नेपाल प्रहरीमा महिला प्रहरीको प्रवेश भइसकेको थियो ।
११ असार २००८ असार ११ गते चैतमाया डंगोल प्रहरी जवानमा सेवा प्रवेश गर्नुभएको थियो । उहा नेपाल प्रहरीको इतिहासकै प्रथम महिला प्रहरी हुनुहुन्छ। जवानमा सेवा प्रवेश गरेकी डंगोलले ३१ वर्ष ७ महिना २२ दिन सेवा गर्दै २०३९ मा अवकाश हुनुभएको थियो ।
२००८ देखि अहिलेसम्म आइपुग्दा नेपाल प्रहरीको कुल जनशक्तिको १२.४१ प्रतिशत महिला प्रहरी कर्मचारी छन् । नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ मध्ये अहिले ७४ हजार ८०६ जना कार्यरत छन् ।
काठमाडौं महानगरपालिका–७ चाबहिलकी डंगोलले प्रहरी सहायक निरीक्षकबाट अवकाश पाउनुभएको थियो । चैतमायाको प्रहरीमा प्रवेशपछि क्रमश महिला प्रहरी कर्मचारीको विकास हुँदै आएको थियो । त्यसपछि सन् १९६८ मा २५ जना महिलालाई ट्राफिक प्रहरीमा भर्ना गरिएको थियो ।
२००८ देखि अहिलेसम्म आइपुग्दा नेपाल प्रहरीको कुल जनशक्तिको १२.४१ प्रतिशत महिला प्रहरी कर्मचारी छन् । नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५४१ मध्ये अहिले ७४ हजार ८०६ जना कार्यरत छन् ।
जसमध्ये ८७.५९ प्रतिशत आर्थत् ६५ हजार ५२० पुरुष प्रहरी कर्मचारी र १२।४१ प्रतिशत अर्थात् ९ हजार २८६ महिला प्रहरी कर्मचारी कार्यरत रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
नेपाल प्रहरीको इतिहासमा अतिरिक्त महानिरीक्षक (एआईजी) दर्जासम्म महिला प्रहरी पुगेको देखिन्छ । नेपाल प्रहरी अस्पतालको प्रमुखदेखि विभिन्न विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सम्मको कमान्ड महिला प्रहरीले गरिसकेका छन् । प्रहरी अस्पतालको कमान्ड प्राविधिक एआईजी डा. आशा सिंहले गर्नुभएको थियो । २०८१ साउन १० गते उहाँ अवकाश हुनुभयो । यो बाहेक प्रशासनतर्फको पहिलो महिला एआईजी पूजा सिंह बन्नुभएको थियो । उहा २०७९ जेठमा एआईजीमा बढुवा हुनुभयो भने मीरा चौधरी, किरण बज्राचार्य, दुर्गासिंह चन्द पनि एआईजी बन्नुभयो।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दर्जामा ६, प्रहरी उपरीक्षक (एसपी) दर्जामा ८, प्रहरी नायव उपरीक्षक (डीएसपी) दर्जामा ३९ र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जामा १५४ जना महिला प्रहरी कर्मचारी कार्यरत छन् ।
वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) दर्जामा १३२, प्रहरी नायव निरीक्षक (सई) दर्जामा २४०, प्रहरी सहायक निरीक्षक (असई) दर्जामा ४८९ महिला प्रहरी कर्मचारी कार्यरत छन् । वरिष्ठ हवल्दार २७५, हवल्दार ११४२, सहायक हवल्दार १५७९, जवान ४६४० र कार्यालय सहयोगी ५७३ जना महिला प्रहरी कर्मचारी कार्यरत रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।

