हेटौडा, श्रावण ४
हेटौंडा इजलासमा ५ जना महिला न्यायाधीशले उत्कृष्ट न्याय सम्पादन गर्दैछन्। मकवानपुर जिल्ला अदालतमा पनि ४ महिला न्यायाधीश कार्यरत छन् र न्याय सम्पादनमा राम्रो प्रगति भएको छ। महिला न्यायाधीशहरूले न्याय सम्पादनमा कुनै ढिलाइ वा चुनौती महसुस नगरेको बताएका छन्।
महिलाले नेतृत्व गरेका न्यायालयमा कार्य–सम्पादन पनि सन्तोषजनक पाइएको छ । यसैका पछिल्ला उदाहरण हुन्, उच्च अदालत पाटन हेटौंडा इजलास र मकवानपुर जिल्ला अदालत ।
हेटौंडा इजलास र मकवानपुर जिल्ला अदालत महिला न्यायाधीशले हाँकिरेहका छन् । उच्च अदालत पाटन हेटौंडा इजलासमा ५ जना महिला न्यायाधीश छन् । उनीहरूले दुई वर्षदेखि हेटौंडा इजलासलाई अब्बल साबित गरेका छन् । मकवानपुर जिल्ला अदालतमा पनि ४ महिला न्यायाधीशले न्याय सम्पादन गरिरहेका छन् । जुन न्याय सम्पादन उत्कृष्ट साबित भएको छ ।
हेटौंडा इजलासमा न्यायाधीशहरू यमुना भट्टराई, शकुन्तला घिमिरे, मीना गौतम सेढाईं, निर्मला पौडेल र सानुमाया डंगोल कार्यरत हुनुहुन्छ । सात जना न्यायाधीशको दरबन्दी भए पनि ५ जनाले हेटौंडा इजलासलाई हाँकिरहनुभएको छ । केही समयअघिसम्म ६ जना महिला न्यायाधीश हुनुहुन्थ्यो । न्यायाधीश शान्ता सेढाईको एक महिनाअघि सरुवा भएपछि ५ जनामात्र कार्यरत हुनुहुन्छ ।
उच्च अदालत पाटनले सुरुमा हेटौंडा इजलासमा न्यायाधीश यमुना भट्टराईलाई खटाएको थियो । पछि थप ४ जना न्यायाधीश पनि महिला नै पठाएको रजिस्ट्रार रामु शर्माले बताउनुभयो । महिला भएकै कारण न्याय सम्पादनमा ढिलाइ वा अन्य समस्या भएको भन्ने गुनासो सुन्नु नपरेको बरु न्याय सम्पादनमा अगाडि रहेको उहाले सुनाउनुभयो ।
न्याय सम्पादन अझ निष्पक्ष र गम्भीरतापूर्वक हुने गरेको मकवानपुरका कानुन व्यवसायीको ठम्याइ छ । इजलासका न्यायाधीश मात्रै होइन, अदालतमा अन्य कर्मचारी पनि आधाभन्दा बढी महिला हुनुहुन्छ ।
मुलुकभर रहेका ७ वटा उच्च अदालतका १८ वटा इजलास छन् । उच्च अदालत पाटनको हेटौंडा इजलासमा मात्रै सबै न्यायाधीशसहित महिला कर्मचारी मात्रै ३० जना छन् । ५ जना न्यायाधीशसहित ५३ जना कर्मचारी रहेको हेटौंडा इजलासमा २३ जनामात्र पुरुष कर्मचारी छन् । यसअघि यहाँ रजिस्ट्रार पनि महिला थिए ।
उच्च अदालत पाटन हेटौंडा इजलासले गत आर्थिक वर्षमा ७२ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । हेटौंडा इजलासमा ०८१।८२ मा जिम्मेवारी सरेर आएका सहित १ हजार ७ सय २७ थान मुद्दा दर्ता भएका थिए । दर्तामध्ये १ हजार २ सय ४७ थान मुद्दा फर्स्योट गरिएको थियो । यहाँ अघिल्लो आर्थिक वर्षमा १ हजार ६ सय १९ मुद्दा रहेका थिए । तीमध्ये १ हजार २ सय ४५ मुद्दा फर्स्योट गरिएको थियो । चितवन र मकवानपुर कार्यक्षेत्र रहेको हेटौंडा इजलासमा १ वर्ष र २ वर्ष नाघेका मुद्दा शून्य छन् ।
मकवानपुर जिल्ला अदालतमा कार्यरत पनि चारै जना न्यायाधीश महिला हुनुहुन्छ । न्यायाधीशहरू अवनी मैनाली भट्टराई, गीता श्रेष्ठ, शकुन्तला कार्की र पूर्णिमा कोइरालाले जिल्लाको इजलास सम्हालिरहनुभएको छ । जिल्ला अदालतका स्रेस्तेदार पनि महिला नै छन् । जिल्ला अदालतमा रोशी भण्डारी स्रेस्तेदार र बबिता बस्नेत तहसीलदार पदमा कार्यरत हुनुहुन्छ ।
महिलाले संचालन गरेको अदालतको न्याय सम्पादनमा राम्रो प्रगति छ । ४ न्यायाधीशसहित कुल ६० जना कर्मचारी कार्यरत रहेको जिल्ला अदालतमा २६ महिला र ३४ पुरुष कर्मचारी छन् । ‘एकैपटक ४ जना महिला न्यायाधीशले जिल्ला अदालत हाँकेको पहिलो पटक हो,’ अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताउनुभयो ।
जिल्ला अदालत मकवानपुर ०८१।८२ मा करिब ७० प्रतिशत मुद्दा फर्स्योट गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा मुद्दा फर्स्योट करिब ११ प्रतिशत बढी हो । ०८१।८२ मा जिम्मेवारी सरेर आएका १ हजार ५ सय ९७ मुद्दा र नयाँ दर्ता २ हजार ५ सय ५३ सहित ४ हजार १ सय ५० थान मुद्दा जिल्ला अदालतमा रहेका थिए । तीमध्ये २ हजार ८ सय ६८ थान अर्थात् ६९ दशमलव ११ प्रतिशत मुद्दा फर्स्योट भएको अदालतकी स्रेस्तेदार भण्डारीले बताउनुभयो । जिल्ला अदालत मकवानपुरमा २ वर्ष नाघेका २ वटामात्र मुद्दा फर्स्योट हुन बाँकी छन् । ०८०।८१ मा २ वर्ष नाघेका मुद्दा २२ थान थिए ।
महिलाहरू सबै क्षेत्रमा नेतृत्व गर्न सक्षम छन् भन्ने उच्च अदालतको हेटौंडा इजलाश र मकवानपुर जिल्ला अदालतले थप प्रमाणित गरेको वरिष्ठ अधिवक्ता ईश्वर ढकाल बताउँनुभयो ।

