जेष्ठ १७

चालु आर्थिक २०८१/०८२ को १० महिनाको अवधिमा आठ सय ७० उद्योग व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् ।
चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले बन्द हुने भन्दा नयाँ दर्ता बढ्दो देखाएसँगै खुल्ने र बन्द हुने ब्यवसाय करिब बराबरीमा पुगेको देखिएको हो ।
जिल्लामा तीन सय ६६ उद्योग र पाँच सय चार व्यवसाय गरी आठ सय ७० वटा उद्योग तथा व्यवसाय थप हुँदा उद्योगतर्फका दुई सय ९५ र वाणिज्य तर्फका तीन सय ८९ गरी छ सय ८४ को लगत कट्टा भएको घरेलु तथा साना उद्योग कार्यालय दाङको रेकर्डले देखाएको छ । कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले गत वर्ष जस्तो लगत कट्टा नयाँ दर्ता हुने भन्दा बढी भएको अवस्था विस्तारै कम हुँदै गएको बताउनुभयो । उहाँले नयाँ दर्ता गर्ने फर्मको संख्या तुलनात्मकरुपमा बढ्दै गएको जानकारी दिनुभयो । ‘नयाँ दर्ता भन्दा लगत कट्टा बढी भइरहेको अवस्थामा हाल नयाँ दर्ता बढेको र लगत कट्टा त्यो तुलनामा कम भएको देखिएको छ ।
नयाँ व्यवसायमा लाग्नेको संख्या बढेको रेकर्डमा देखिन्छ भने लगत कट्टा गर्ने यस अधिको तुलनामा घट्न थालेको देखिन्छ ।’घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता अनिल चौधरीले दैनिक जसो कार्यालयमा सेवा लिन आउनेमा लगत कट्टा गर्ने भन्दा नयाँ दर्ता गर्ने धेरै हुन थालेको बताउनुहुन्छ । ‘लगत कट्टा गर्ने र नयाँ दर्ता गर्नेको तुलना गर्दा पछिल्लो समयमा नयाँ दर्ता गर्नेको संख्या बढ्दो क्रममा रहेको छ’– उहाँ भन्नुहुन्छ– ‘कोभिड, आर्थिक मन्दीको असर जस्ता समस्या कम हुँदै गएर ब्यावसायिक क्षेत्र लयमा फर्कन लागेको जस्तो नयाँ दर्ता गर्नेको उत्साहले देखाएको छ ।’ कतिपयले ऋणका लागि भए पनि नवीकरण तथा दर्ता गर्ने गरेका छन् भने कतिपय कागजमा मात्रै भएका फर्मको लगत कट्टा पनि हुने गरेको पाइन्छ । कार्यालयमा आएर लगत कट्टा गर्ने अधिकांश व्यवसायीले व्यवसाय नचलेको, वैदेशिक तथा पारिवारिक कारण देखाउँदै व्यवसाय बन्द गर्नु परेको कारण उल्लेख गर्ने गरेका छन् ।
कार्यालयको रेकर्डले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा थपिएका उद्योग तथा वाणिज्य फर्ममा पाँच सय चारजना पुरुष र तीन सय ७१ जना महिला गरी आठ सय ७५ उद्यमी बन्न सफल भएको देखाएको छ । उद्यमी मात्रै नभई नयाँ थपिएका उद्योग व्यवसायबाट चार सय १८ महिला र सात सय ८५ पुरुष गरी एक हजार दुई सय तिनले रोजगारी पाएका छन् । उद्योगतर्फ दुई सय ९५ र वाणिज्यतर्फ तीन सय ८९ गरी छ सय ५४ उद्योग तथा वाणिज्य फर्म बन्द भएको कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले उद्योग र नयाँ उद्यमी बढाउनका लागि दर्ता नवीकरणमा छुट दिएको थियो । उत्साह नयाँ दर्तामा त्यति धेरै नभएपनि नवीकरण गर्ने भने बढेका हुन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आठ सय उद्योग नवीकरण भएका छन् भने वाणिज्यतर्फ एक हजार एक सय ५६ गरी जम्मा दुई हजार ४४ उद्योग तथा वाणिज्य फर्म नवीकरण भएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा नयाँ दर्ता हुन आउने उद्योगलाई उद्योग दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । ती मध्ये अपांग महिला, दलितको लागि थप ५० प्रतिशत छुट थियो । २०७८÷०७९ सम्म वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरी सञ्चालनमा रहेका वा सञ्चालनमा नै रहेका दर्ता भएका प्राइभेट तथा साझेदारी फर्मले २०८१ चैत मसान्तभित्र विवरणसहित नवीकरण वा दर्ता खारेज गर्न चाहेमा नियमानुसार लाग्ने नवीकरण शुल्क र जरिवाना रकमको पाँच प्रतिशतले हुन आउने रकम दाखिला गरेमा बाँकी शुल्क वा जरिवाना मिनाहा गरी नवीकरण वा दर्ता खारेज गर्ने व्यवस्था पनि यस वर्ष गरिएको थियो । लघु घरेलु तथा साना उद्योगको रूपमा दर्ता गर्ने उद्योगलाई दर्ता गर्दा प्रचलित व्यवस्था अनुसार लाग्ने अन्तिम दर्ता शुल्कको ५० प्रतिशत छुट दिई दर्ता गरिने व्यवस्था पनि थियो । चालु आर्थिक वर्षमा छुटले नवीकरण दर बढेसँगै राजश्व संकलन पनि कार्यालयले चालु आर्थिक वर्षको १० महिनासम्ममा एक करोड २५ लाख ६४ हजार चार सय ८६ रुपैयाँ गरेको छ । उद्योगबाट ५५ लाख ४९ हजार छ सय २२ र वाणिज्य फर्मबाट ८० लाख १२ हजार एक सय १४ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । उद्योगतर्फ ६७ करोड १० लाख ४२ हजार दुई सय ५९ र वाणिज्य फर्मतर्फ ९७ करोड ७३ लाख ४१ हजार रुपैयाँ गरी वैशाख मसान्तसम्ममा जिल्लामा उद्योग तथा वाणिज्य फर्ममा एक अर्ब ६४ करोड ८३ लाख ८२ हजार दुई सय ५९ रुपैयाँ लगानी थप भएको छ ।

Related Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *