नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई ‘ज्यान मार्ने उद्योग’ तथा ‘कर्तव्य ज्यानसम्बन्धी कसुर’बाट उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ।
न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको अदालतको वेबसाइटमा उल्लेख छ।
विसं २०६४ को पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ‘बूथ कब्जा गर्ने उद्देश्यले’ बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।
तर उक्त घटनामा परी घाइते भएका अन्य १३ जनालाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो।
आलमले पछिल्लो पटक विसं २०७४ मा रौतहट क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका थिए। तर कार्यकाल पूरा नहुँदै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उहा निलम्बनमा पर्नुभएको थियो ।

