तुलसीपुर,८ चैत
जातिय बिभेद तथा छुवाछुतका बिरुद्ध तुलसीपुरमा धर्मगुरुहरुका साथ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ६० औ अन्तराष्ट्रिय जातिय बिभेद तथा छुवाछुत बिरुद्धको अन्तराष्ट्रिय दिवस २१ मार्चको अवसरमा तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा दलित महिला संघको सहयोजनामा धार्मिक गुरु,थारु समुदायको महतवा, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षीका,कानून ब्यबसायी, अधिकारकर्मी र अभियान्ताहरुका बिचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सह आयोजक एवम दलित महिला संघका अध्यक्ष युवा कराराले जानकारी दिनुभयो । त्यसअवसरमा धर्मगुरु एवम दलित समुदायका अगुवा राम बहादुर नेपाली र त्रिसिदेश्वरी मन्दीरका गुरु नारायण लम्सालले हिन्दु धर्ममा जातिय बिभेद नभएको बताउनुभयो ।
तर दलित अधिकारको क्षेत्रमा कामगर्दै आएका दलित समुदायका अगुवा जोगेन्द्र बिश्वकर्मा,छवी परिवार,देबिका नेपाली, बाबुराम बिश्वकर्मा,पदम नेपाली र मुना बिकले धर्मका नाममा दलित समुदाय माथि आक्रमण भईरहेको बताउनुभयो ।
कार्यक्रममा कानुन ब्यबसायि अर्जुन अधिकारीले जातिय भेदभाव तथा छुुवाछुत बिरुद्धको सजाय ऐन, दण्ड सजाय, मुलुकि फौजदारी संहितामा भएको ब्यबस्था, क्षतिपुर्तिका बारेमा बताउनुभयो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले कुनैपनि प्रकारको जातिय भेदभाव तथा छुवाछुत गर्न नपाउने ब्यबस्थालाई कडाईका साथ लागु गर्न लागि परेको बताउनुभयो । तुलसीपुर उपमहानगरपािलका वडा नम्वर १८ का अध्यक्ष माधव वली,नागरिक समाज दाङका पूर्व संयोजक टिकाराम रेग्मी,मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेतले अझै पनि जातिय भेदभाव तथा छुुवाछुत समाजमा भईरहेको भन्दै दुख ब्यक्त गर्नुभयो । सबैले आनीबानि ब्यबहार परिर्वतन गर्ने संकल्प लियौं र यसका बिरुद्ध ऐक्यबद्ध हुन आह्वान समेत गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खडकाको अध्यक्षतामा भएको कार्यक्रममा दलित विकास ऐन २०८० बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै दलित महिला संघले नगरप्रमुख खडकालाई अभिनन्दन गरिएको थियो । त्यस्तै, वडा नम्वर १८, नागरिक समाजका पूर्व संयोजक टिकाराम रेग्मी र अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै, उपमहानगरपालिकाको तर्फबाट अधिकारर्मी देवीका नेपाली, पदम नेपाली,छवि परियार र पार्वती पहाडीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य उपप्रमुख स्यानी चौधरीले गर्नुभएको थियो भने फेडोका अध्यक्ष युवा कराराले कार्यक्रमको औचित्यमाथि प्रकास पार्नुभएको थियो । कार्यक्रमको सहजिकरण महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।
शान्ति समाजको आह्वान सामाजिक न्यायका लागि सामुहिक आन्दोलन
यसैबिच मानव अधिकार तथा शान्ति दाङ शाखाले जातिय भेदभाव तथा छुवाछुत बिरुद्धको दिवसमा नागरिक संवाद गरेको छ । समाजले दलित अधिकार मानव अधिकार भन्ने नाराका साथ यसपटक ६० औ अन्तराष्ट्रिय जातिय भेदभाव तथा छुवाछुत बिरुद्धको दिवसका अवसरमा सामाजिक न्यायका लागि सामुहिक आन्दोलन भन्दै नागरिक संवाद गरेको शाखाका उपसभापति अमृत प्रसाद शर्माले जानकारी दिनुभयो ।
शाखा सभापति कोमल डिसीको सभापत्विमा भएको कार्यक्रममा नागरिक समाजका अगुवा टिकाराम रेग्मी,सीमा न्यौपाने,सुष्मा लामिछाने,पदमा चौधरी,जोगेन्द्र बिश्वकर्मा,छवि परियार,कृष्ण केसी लगायतले मानव अधिकार दलित अधिकारका बारेमा जोड दिनुभयो । कार्यक्रममा शान्ति समाजले तयार पारेको अवधारणा पत्र केन्द्रिय सचिव तुलसीराम सुनारले गर्नुभएको थियो भने सहजिकरण सचिव माधव बस्नेतले गर्नुभएको थियो ।

