पुष १९ गते
सुन तस्करी प्रकरणमा राहुल महरा र भन्सारका नासुसहित ११ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरीएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ११ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका नासु रेवन्त खड्का सहित ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
जसमा भन्सारका नासु खड्कासहित उक्त सुन प्रकरणमा जोडिएका दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मरगले, राहुल भनिने रेशम महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापा हुनुहुन्छ। राहुल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुनुहुन्छ ।
उहाहरूमध्ये रोजन र प्रेरणालाई भने सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
यसअघि उनीहरूविरुद्ध सीआईबीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा मुद्दा चलाएको थियो । गत १६ भदौमा यो मुद्दाको फैसला भएको थियो । जसमा खड्कालाई दुई वर्ष ६ महिना कैद र २५ हजार जरिवाना, दिनेश बस्नेतलाई एक वर्ष ६ महिना कैल र १५ हजार जरिवाना, निर्मलकुमार विकलाई ६ महिना कैद र ५ हजार जरिवानाको फैसला सुनाइएको थियो ।
त्यस्तै, वेदप्रकाश र साहेव रावविरुद्ध जनही ४५ हजार जरिवाना सुनाइएको थियो । दावा र राहुललाई जनही एक वर्ष दुई महिना कैदको फैसला सुनाइएको थियो । लोकेन्द्रलाई सफाइ दिइएको थियो ।
राम केशव र अमृतको जग्गा जफतको फैसला भएको थियो । भेप मार्फत आएको सुन बेचेर जग्गा खरिद गरेको खुलेपछि उक्त जग्गा जफतको फैसला भएको थियो ।
फ्लाई दुबईको जहाज मार्फत १० पुस २०७९ मा चिनियाँ नागरिक लि ह्यानसङ्गले सुटकेशमा राखेर भेपभित्र लुकाएर सुन ल्याउनुभएको थियो । सुनले भरिएको उक्त सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । त्यतिबेला भेपमा सुन भएरनभएको यकिन हुन बाँकी नै थियो ।
भन्सारले पासपोर्ट समेत लिएर चिनियाँ नागरिक होसाङलाई छाड्यो । भोलिपल्टै चिनियाँ नागरिक होसाङले आफ्नो पासपोर्ट लिएर स्वदेश फर्किनुभयो । पछि एकाएक उक्त भेप गायव पारेर बेचेको खुलेपछि सुन तस्करीको रहस्य बाहिरिएको थियो । त्यसपछि सीआईबीले यसको अनुसन्धान गरेको थियो ।

