सुशील बस्नेत
२५ मंसिर,तुलसीपुर
सरकारको नीतिलाई ठिक ढंगले लागु गर्न नसक्दा युवाहरु रोजगारीका लागि बिदेशजाने क्रम पछिल्ला समयमा बढ्दो रहेको सरोकारवालाहरुले दाङको तुलसीपुरमा बताएका छन् । यसको मूल कारण देशभित्र रोजगारीको आधारभूत अधिकार उपलब्ध हुन नसक्नुको कारण रहेको उनीहरुले बताएका हुन ।
७६ औ अन्तराट्रिय मानव अधिकार दिवसका अवसरमा आज मंगलबार मानव अधिकार तथा शान्ति समाजद्वारा तुलसीपुरमा आयोजित नागरिक संवाद कार्यक्रममा राजनीतिक दल,जनप्रतिनिधि,नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुले रोजगारीमा अवसर तिव्र नहुनु र विकासको अधिकार अपरिहार्य मानव अधिकारको रुपमा स्थापित हुन नसक्नुका कारण समस्या जटिल बन्दै गएको बताएका हुन । कार्यक्रममा बबई गाँउपालिकाका अध्यक्ष कुलबहादुर केसीले स्रोत र साधनको समुचित प्रयोग हुन नसक्नु, सुशासनको अभाव, सत्ता सञ्चालकहरुसँग समृद्धिका लागि आवश्यक सोच÷दृष्टिकोणको कमि लगायत अनेकौ कारणले नागरिकहरुमा असन्तुष्टि पैदा हुदै गएको बताउनुभयो ।
नेपाली काग्रेसका जिल्ला सहसचिव राजु आचार्य, नेकपा एमालेका नेता बिष्णु केसी, नेकपा माओबादीका नेता डिल्ली अधिकारी,राष्ट्रिय स्वतन्त्र पार्टिका नेतृ संगिता ढकाल, राष्ट्रिय जनमोर्चाका नेता एवम अधिबक्ता उत्तम भण्डारी र नेकपा(बिप्लप नेतृत्व) बिजय मल्लले राजनीतिक दलका केही नेताहरुका कारण पनि युवाहरु बिदेश पलायन हुने र आर्थिक लोभका कारण युद्धरत देशहरुमा सैन्यभर्ना हुने गरेको बताउनुभयो । त्यसका लागि ति नेताहरुमा सकारात्मक परिवर्तन हुनुपर्नेमा उहाँहरुले साझा दृष्टिकोण राख्नुभयो ।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, प्रेस स्वतन्त्र सेनानी टिकाराम रेग्मी, तुलसीपुर उद्योग बाण्ज्यि संघका उपाध्यक्ष बिश्व बस्नेत, महिला अधिकारकर्मी सुष्मा गिरी,पदमा चौधरी र प्रमिला तिवारी, राष्ट्रिय अपाङ महासंघका जिल्ला अध्यक्ष देवा डाँगी,राप्ती बहिरा संघका अध्यक्ष अजय शर्मा,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष ईश्वरी खड्का लगायतले मानव अधिकारको बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिंह ठकुरीले तुलसीपुरलाई सुरक्षित शहर रहेको दावि गर्नुभयो । हल्लै हल्लाका कुरा नगर्न समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा बिषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
सो नागरिक संवाद कार्यक्रम शाखा सभापति कोमल डिसीको सभापतित्वमा भएको थियो । स्वागत मन्तब्य उपसभापति अमृतप्रसाद शर्मा र सहजिकरण सचिव माधव बस्नेतले गर्नुभएको थियो । शान्ति समाजले १० डिसेम्वरलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रत्येक बर्ष बिबिध कार्यक्रम गरि मनाउदै आएको छ । दिवसका अवसरमा रोजगारीको अधिकारः मानव अधिकार,बढदो युवा पलायन,नेपालको जनसंख्या र युवा पलायनको तथ्यांक,सैन्य प्रयोजनमा प्रयोग हुने खतरा र नेपालको परराष्ट्र नीतिको आधार समेत समेटिएको अवधारण पत्र तयार गरेको छ ।
बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोग खतरा प्रति चिन्ता ब्यक्त

