घोराही, आश्विन ११
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले एकताबद्ध कांग्रेस निर्माण गर्न सके अझै भविष्य रहेको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै ‘मुख्यगरी नेताहरुमा तेरो मेरो भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उहाँले जोड दिनुभयो । कोइरालाले भन्नुभयो– ‘तपाईंहरुले नेताले जे सुन्न चाहेको छ त्यही भन्ने होइन, जे सत्य हो त्यही भन्नुपरयो। कांग्रेस बनाउनुप¥यो ।’ पुराना पार्टीको विकल्प खोज्ने बहसप्रति लक्षित गर्दै नेता कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर लैजान सके नेपाली कांग्रेसको भविष्य अझै धेरै रहेको दाबी गर्नुभयो ।
उहाँले थप जोड दिदै भन्नुभयो, ‘कांग्रेस केन्द्रीय कमिटीमा ४० वर्षमुनिका एउटा पनि सदस्य छैनन् । पार्टीको १५ औं महाधिवेशन आउँदै गरेको प्रसंग कोट्याउँदै युवा, सक्षम र साझा नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीमा युवाहरुलाई आकर्षित गरौं’– नेता कोइरालाले भन्नुभयो । ‘युवा नेतृत्व आकर्षित गर्न पार्टी, भातृ संगठनहरुको समयमै निर्वाचन गरांै । तेरो मेरो नभनौं ।’ वर्षमा तीन सय ६४ दिन काग्रेस हुने तर मतदान गर्ने बेला एकदिन कांग्रेस बिर्सिने प्रवृत्तिको अन्त्य गर्न पनि साझा नेतृत्व आवश्यक रहेको उहाँको भनाइ थियो ।
राजनीति आफ्नो लागि नभई जनताका लागि गर्नुपर्ने भन्दै राजनीतिमा अरुको अस्तित्वलाई पनि स्वीकार्न सक्नुपर्ने नेता कोइरालाको भनाइ थियो । ‘म आफै विरामी भेट्दा उसको पीडाहरण गर्न सक्थें, खुशी लाग्थ्यो तर राजनीतिमा एउटा सोच्यो अर्को हुन्छ’– नेता कोइरालाले भन्नुभयो– ‘राजनीति फरक विषय हो । यसमा सुझबुझरुपमा लाग्नुपर्छ र यसमै रमाउनुपर्छ । फरक विचारलाई पनि स्वीकार्नुपर्छ ।’ उहाँ‘ले अरुको अस्तित्व स्वीकार गरेर रमाउन सक्ने हो भने राजनीति गर्न सकिन्छ र पार्टी पनि बन्ने बताउनुभयो । उहाँले पार्टीमा ग्रुपिज्म हुने भए पनि त्यो महाधिवेशनमा मात्रै हुनुपर्ने बताउनुभयो । ‘नेतृत्व स्थापित गर्दा ग्रुपिज्म हुन्छ । स्वाभाविक हो’– कोइरालाले भन्नुभयो– ‘तर गु्रपिज्म पार्टीमा हुनुहुँदैन, महाधिवेशनमै सीमित हुनुपर्छ ।’
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति गिरिराज सुवेदी र सहजीकरण सचिव बालिका लम्सालले गर्नुभएको थियो ।